नवलपरासी — पूर्वपश्चिम राजमार्गअन्तर्गत चार लेनमा विस्तार भइरहेको नारायणघाट–बुटवल सडकखण्डको पूर्वी भागमा पर्ने सबै साना पुलहरूको निर्माण सम्पन्न भएको छ। गैँडाकोटदेखि दाउन्नेसम्मको खण्डमा पर्ने २२ वटा साना पुलहरू बनिसकेका हुन्।
सडक योजना पूर्वी खण्डका सूचना अधिकारी इन्जिनियर शिव खनालका अनुसार २५ मिटरभन्दा छोटा पुलहरू साना र २५ मिटरभन्दा लामालाई ठूला पुल मानिएको हो। पूर्वी खण्डमा निर्माण गर्नुपर्ने १२ वटा ठूला पुलमध्ये पाँचवटा निर्माण सम्पन्न भइसकेका छन्।
हाल निर्माण सम्पन्न भएका केही पुलमा राजमार्गसँग जोड्ने पहुँच मार्ग निर्माण बाँकी रहेकाले ती पुलमा सवारी सञ्चालन सुरु गरिएको छैन। खनालका अनुसार आगामी असारसम्म थप तीन ठूला पुलहरूको निर्माण पूरा हुनेछ। जयश्री, बेल्डिहा, गिरुबारी र अरुणखोलामा निर्माण भइरहेका पुलहरूबाहेकका अधिकांश पुल निर्माण अन्तिम चरणमा पुगेका छन्।
केही साता अगाडि अत्यधिक भारवहनका कारण विनयी खोलाको पुरानो पुल भाँचिएपछि यातायातमा समस्या भएको थियो। त्यस क्षेत्रको नयाँ पुल निर्माणमा जनशक्ति केन्द्रित गरिएको खनालले बताए।
गैँडाकोटदेखि दाउन्नेसम्मको करिब ६५ किलोमिटर सडक खण्डमा हालसम्म ५२.५ किलोमिटर कालोपत्र सम्पन्न भइसकेको छ। चैत मसान्तसम्म सडक विस्तारको समग्र प्रगति ६३ प्रतिशत पुगेको छ।
नारायणघाट–बुटवल खण्डलाई दुई भागमा विभाजन गरिएको छ— पूर्वी खण्ड (गैँडाकोट–दाउन्ने, ६५ किमी) र पश्चिमी खण्ड (दाउन्ने–बुटवल, ४९ किमी)। सहरी क्षेत्रमा दुवै तर्फ सर्भिस लेन थपिनेछ भने दाउन्ने क्षेत्रको १४ किलोमिटर सडक तीन लेनमा विस्तार गरिनेछ।
सडक निर्माणको ठेक्का पाएको चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्पोरेशन लिमिटेडले सन् २०१९ को चैत ८ गतेदेखि निर्माण कार्य सुरु गरेको हो। रुख कटान, पोल सार्न ढिलाइ, निर्माण सामग्री अभाव र कोभिड–१९ को असरका कारण निर्माणमा ढिलाइ भएको छ। प्रारम्भिक ४२ महिनाको म्याद सकिएपछि निर्माण अवधि तीन पटक थपिएको छ, जुन म्याद अब आगामी असारमा सकिनेछ।