बैंक तथा वित्तीय संस्थाहरूको विदेशी विनिमय सञ्चिति २७ प्रतिशतले बढ्यो

नेपालको वैदेशिक मुद्राको सञ्चिति चालु आर्थिक वर्षको पहिलो छ महिनामा १३.५ प्रतिशतले वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकका अनुसार २०८१ असार मसान्तमा २०४१ अर्ब १० करोड रुपैयाँ रहेको कुल विदेशी विनिमय सञ्चिति पुस मसान्तमा बढेर २३१६ अर्ब ८४ करोड रुपैयाँ पुगेको छ।

अमेरिकी डलरमा मूल्यांकन गर्दा, २०८१ असार मसान्तमा १५ अर्ब २७ करोड डलर रहेको सञ्चिति १०.३ प्रतिशतले बढेर २०८१ पुस मसान्तमा १६ अर्ब ८४ करोड डलर पुगेको छ। कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति सोही अवधिमा १२.१ प्रतिशतले वृद्धि भई २०७२ अर्ब ३४ करोड पुगेको छ। बैंक तथा वित्तीय संस्थाहरू (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको सञ्चिति २७ प्रतिशतले वृद्धि भई २४४ अर्ब ५० करोड पुगेको छ।

२०८१ पुस मसान्तसम्म कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २४.३ प्रतिशत रहेको छ। राष्ट्र बैंकका अनुसार बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १७.३ महिनाको वस्तु आयात र १४.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ।

२०८१ पुस मसान्तसम्म विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगको अनुपात क्रमशः ४०.६ प्रतिशत, १२०.३ प्रतिशत र ३२.० प्रतिशत रहेको छ, जुन २०८१ असार मसान्तमा क्रमशः ३५.८ प्रतिशत, १०८.६ प्रतिशत र २९.३ प्रतिशत थियो।

प्रतिक्रिया