धनगढी । घनाबस्तीको बीचमा रहेको नेपाल आयल निगमको सुदूरपश्चिम प्रादेशिक डिपो तत्काल स्थानान्तरण गर्न स्थानीय बासिन्दाले माग गरेका छन्। धनगढी उपमहानगरपालिका–३ चटकपुरस्थित डिपो दुई वर्षदेखि सार्ने तयारीमा भए पनि हालसम्म कुनै प्रगति नदेखिएको भन्दै स्थानीयले अब दबाबमूलक आन्दोलन सुरु गर्ने तयारी गरेका हुन्।
शुभकामना टोल विकास संस्थाको अगुवाइमा डिपो स्थानान्तरणको मागमा अर्को सातादेखि चरणबद्ध कार्यक्रम सञ्चालन गर्ने तयारी भएको छ। स्थानीयले यसअघि पनि वडाध्यक्षमार्फत डिपो प्रमुखको ध्यानाकर्षण गराएका थिए।
संस्थाका अध्यक्ष दीर्घराज ओझाका अनुसार घनाबस्तीबीच रहेको डिपोले सुरक्षा जोखिम बढाएको छ। उनले तत्काल डिपो सार्न निगम गम्भीर हुनुपर्ने बताउँदै भने, “स्थानीयहरू सधैँ त्रासमा बाँचिरहेका छन्, घरमा आगो बाल्दा समेत डर लाग्ने अवस्था छ।”
शुभकामना टोलमा ८७ घरधुरीका करिब ३५० भन्दा बढी मानिस बसोबास गर्छन्। डिपो नजिकै धनगढी नेत्रालय, सिपी अस्पताल, विद्यालय र व्यवसायिक भवनहरू रहेका कारण दुर्घटनाको जोखिम झन् बढेको स्थानीयको भनाइ छ।
धनगढी उपमहानगरपालिकाका प्रमुख गोपी हमालले पनि नगरले पटकपटक डिपो सुरक्षित स्थानमा सार्न आग्रह गरेको जानकारी दिए। नजिकैको प्रज्ञा सदनमा ४०० भन्दा बढी विद्यार्थी अध्ययनरत छन्। विद्यालयका प्राचार्य तीर्थराज फुलाराले पनि डिपोका कारण विद्यार्थी सधैँ त्रासमा बस्नुपरेको बताए।
नेपाल आयल निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टले उपयुक्त जग्गा खोजी भइरहेका कारण ढिलाइ भएको बताए। उनका अनुसार चार–पाँच ठाउँमा जग्गा पहिचान भइरहेको छ र उपयुक्त ठाउँ फेला परेपछि तत्काल स्थानान्तरण प्रक्रिया अघि बढाइनेछ।
यसअघि कञ्चनपुरको पुनर्वास क्षेत्रमा डिपो सार्ने तयारी भए पनि जग्गा खरिदमा अन्योल देखिएको थियो। हाल निगमले कैलालीको अत्तरिया नजिक करिब २० बिघा जग्गा उपयुक्त रहेको सिफारिस पाएको छ।
हाल धनगढीस्थित डिपो सानो क्षेत्रफलमा सञ्चालन भइरहेको र भण्डारण क्षमता वृद्धि गर्न कठिनाइ भएको निगमका सुदूरपश्चिम प्रदेश कार्यालय प्रमुख हरिदत्त जोशीले बताएका छन्।
विसं २०३७ मा स्थापना भएको उक्त डिपो सुदूरपश्चिमका नौ जिल्लामा पेट्रोलियम पदार्थ आपूर्ति गर्दै आएको छ। दैनिक १०० किलोलिटर पेट्रोल र ३०० किलोलिटर डिजेल बिक्री हुने यो डिपोबाट हालको संरचनाले एक हप्ताको माग पनि धान्न नसक्ने जनाइएको छ।