☰

देशभर मौसम आंशिक बदली, पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावसँगै स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा आंशिकदेखि साधारण बदली रहेको छ भने लुम्बिनी प्रदेशसहित अन्य पहाडी भू–भागमा आंशिक बदली देखिएको छ। बाँकी भू–भागमा मौसम सामान्यतया सफा छ।

हाल कर्णाली प्रदेशका केही स्थानहरू र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ। दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशसहित देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ। बाँकी भू–भागमा आंशिक बदली रहनुका साथै केही स्थानमा मौसम सफा रहने महाशाखाले जनाएको छ।

सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी क्षेत्रका केही स्थानमा तथा अन्य पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपात हुन सक्नेछ। अपराह्न कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हावाहुरीको सम्भावना रहेको छ।

राति कोशी प्रदेशसहित देशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ भने अन्य स्थानमा मौसम सामान्यतया सफा रहनेछ। पहाडी भू–भागका केही स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

साथै, कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हावाहुरी चल्ने सम्भावना भएकाले यसले जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा असर पार्न सक्ने चेतावनी महाशाखाले दिएको छ। सम्भावित जोखिमबाट जोगिन आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय