चीनसँगको भेटमा लिपुलेकबारे नेपालले राख्यो अडान

काठमाडौं । चीनको थियानजिनमा आयोजित शाङ्घाई सहयोग संगठन (एससिओ) को शिखर सम्मेलनमा सहभागी हुन पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले चीनका राष्ट्रपति सी चिनफिङसँगको भेटवार्तामा लिपुलेक सम्बन्धी नेपालको स्पष्ट आपत्ति प्रकट गरेका छन्।

थियानमिन स्टेट गेष्ट हाउसमा भएको भेटमा प्रधानमन्त्री ओलीले सार्वभौम नेपालको अभिन्न अंग लिपुलेकलाई व्यापारिक मार्ग बनाउन चीन र भारतबीच भएको सहमतिप्रति आपत्ति जनाउँदै नेपालले यसलाई मान्यता नदिने बताएका परराष्ट्र सचिव अमृतबहादुर राईले जानकारी दिए।

प्रधानमन्त्री ओलीले “सन् १८१६ को सुगौली सन्धिअनुसार महाकाली नदीको पूर्वतर्फका सम्पूर्ण भूभाग नेपालकै हो” भन्दै यस विषयमा चीनले नेपाललाई सहयोग गर्ने विश्वास व्यक्त गरेका थिए। उनले नेपाल आफ्नो भूमि कुनै मुलुकविरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धतामा स्पष्ट रहेको जस्तै, अरू मुलुकहरूले पनि नेपालको भूमिसम्बन्धी सहमतिमा नेपाललाई बेवास्ता गर्न नसक्ने बताएका थिए।

यसबारेमा राष्ट्रपति सीले नेपालले राखेको अडानप्रति आफू असहमत नभएको र नेपाल–भारतबीचको छलफलमार्फत निष्कर्ष निकालिनुपर्छ भन्ने धारणा राखेको परराष्ट्र सचिव राईले जानकारी दिए।

भेटवार्तामा दुई देशबीचको मित्रवत् सम्बन्ध र सहकार्यलाई अझ सुदृढ बनाउने विषयमा छलफल भएको थियो। साथै ‘बेल्ट एन्ड रोड इनिसियटिभ’ (बिआरआई) अन्तर्गतका परियोजनालाई द्रुत गतिमा अघि बढाउने, नेपाललाई आर्थिक तथा सामाजिक समृद्धितर्फ लैजान सहयोग गर्ने र नेपाललाई भूपरिवेष्टित अवस्थाबाट भूजडित मुलुक बनाउन चीन प्रतिबद्ध रहेको विषयमा पनि कुराकानी भएको प्रधानमन्त्रीका आर्थिक सल्लाहकार डा. युवराज खतिवडाले जानकारी दिए।

चीनले नेपालसँग व्यापार विस्तार गर्न थप नाका खोल्न, गुणस्तरीय कृषिजन्य उत्पादन बढाउन सहयोग गर्ने र नेपालको निर्यातमा सघाउन तत्पर रहेको स्पष्ट गरेको थियो।

प्रधानमन्त्री ओलीसँगै पूर्वउपप्रधानमन्त्री पूर्णबहादुर खड्का, मन्त्रीहरू रघुजी पन्त, बद्रीप्रसाद पाण्डे, सांसद छविलाल विश्वकर्मा, सल्लाहकार डा. युवराज खतिवडा, राजदूत डा. कृष्णप्रसाद ओलीलगायत सहभागी थिए।

प्रधानमन्त्री ओलीले भ्रमणका क्रममा चीनका उपराष्ट्रपति हान चङ्गसहित विभिन्न राष्ट्र प्रमुखहरूसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको जनाइएको छ।

प्रतिक्रिया