शीर्षक: भेनेजुएलामा ७.२ र ७.५ म्याग्निच्युडका शक्तिशाली भूकम्प, ठूलो जनधन क्षतिको आशंका
काठमाडौं । दक्षिण अमेरिकी राष्ट्र भेनेजुएलामा केही सेकेन्डको अन्तरालमा दुई शक्तिशाली भूकम्प जाँदा व्यापक क्षति भएको प्रारम्भिक विवरण सार्वजनिक भएको छ। अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) का अनुसार पहिलो भूकम्प ७.२ म्याग्निच्युडको थियो भने त्यसको करिब ४० सेकेन्डपछि ७.५ म्याग्निच्युडको अर्को शक्तिशाली भूकम्प गएको थियो।
भूकम्पपछि राजधानी काराकाससहित विभिन्न क्षेत्रमा भवनहरू भत्किएका छन् भने हजारौं मानिस घर तथा कार्यालयबाट बाहिर निस्किएका छन्। उद्धार तथा राहत कार्य तीव्र रूपमा सञ्चालन भइरहेको छ।
भेनेजुएलाका गृहमन्त्री डिओसडाडो काबेलोले नागरिकहरूलाई क्षतिग्रस्त भवनहरू खाली गर्न तथा सम्भावित परकम्पको जोखिमलाई ध्यानमा राख्न आग्रह गरेका छन्। राजधानी काराकासका पालोस ग्रान्डेस र अल्टामिरा क्षेत्रहरू सबैभन्दा बढी प्रभावित भएको बताइएको छ।
यूएसजीएसले भूकम्पका कारण ठूलो जनधनको क्षति हुन सक्ने चेतावनी दिएको छ। प्रारम्भिक मूल्याङ्कनअनुसार मृतकको संख्या हजारौं पुग्न सक्ने अनुमान गरिएको भए पनि आधिकारिक विवरण सार्वजनिक भइसकेको छैन।
भूकम्पको केन्द्रबिन्दु काराबोबो राज्यको मोन्टाल्बान–मोरोन आसपासको क्षेत्र रहेको जनाइएको छ। राजधानी काराकाससहित ट्रुजिलो, याराकुई, काराबोबो, अरागुआ, मिरान्डा र ला गुएरा लगायतका राज्यहरूमा भूकम्पको धक्का महसुस गरिएको थियो।
भूकम्पको असर छिमेकी देश कोलम्बियासम्म पुगेको छ। कोलम्बियाको राजधानी बोगोटासहित विभिन्न क्षेत्रमा पनि कम्पन महसुस गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोहरूमा केही भवनहरूमा ठूलो क्षति पुगेको, कतिपय संरचना पूर्ण रूपमा भत्किएको तथा उद्धारकर्मीहरू भग्नावशेषमा फसेकाहरूको खोजीमा जुटेको देखिन्छ।
अधिकारीहरूका अनुसार प्रभावित क्षेत्रहरूको पूर्ण मूल्याङ्कन अझै जारी रहेकाले क्षतिको वास्तविक विवरण आउन बाँकी छ। भूकम्पपछि आउने परकम्पका कारण धेरै बासिन्दा अझै घर फर्किएका छैनन्।