काठमाडौँ - नियामक निकाय नेपाल राष्ट्र बैंकले कार्तिक २५ र २६ गते बैंक तथा वित्तीय संस्था राजश्व कारोबारको लागि खुल्ला राख्न निर्देशन दिएको छ ।
केन्द्रीय बैंकले मंगलबार एक सूचना जारी गर्दै ती दिन सार्वजनिक बिदा परेका प्रदेशका बैंक तथा वित्तीय संस्थाहरुलाई पूर्णकालीन रुपमा खुला गर्न निर्देशन दिएको हो।
प्रदेशका राजस्व संकलन गर्ने आन्तरिक राजस्व कार्यालयहरु, करदाता सेवा कार्यालयहरु, भन्सार कार्यालयहरुको राजस्व बुझ्ने काउन्टहरु, राजस्व कारोबार गर्ने सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरु एवं नेपाल राष्ट्र बैंक पूर्णकालीन रुपमा खुला गरी राजस्व बुझने व्यवस्था गर्न र गराउन सूचनामा आग्रह गरिएको छ।
यसैगरी भोलि कात्तिक २४ गते (छठ बिदा–बुधबार) र कात्तिक २७ गते (शनिबार) पनि आरटीजीएस प्रणाली सुचारु रहने राष्ट्र बैंकले जनाएको छ। बुधबार विकास ऋणपत्र २०७८ ‘ङ’ र शनिबार विकास ऋणपत्र २०८५ ‘ख’ को ब्याज भुक्तानी प्रयोजनाका लागि आरटीजीएस प्रणाली सुचारु रहने राष्ट्र बैंकले जनाएको छ।
राष्ट्र बैंकका अनुसार यी दुवै दिन आरटीजीएस प्रणाली बिहान १० बजदेखि मध्याह्न १२ बजेसम्म सञ्चालन हुनेछ।