घुस प्रकरणमा गुप्ताको स्वर पुष्टि, अख्तियारको अनुसन्धान मन्त्री अधिकारीसम्म

७८ लाख घुस ‘डिल’ प्रकरणमा निवर्तमान संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तामाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा चलाउने प्रमाण पाएको छ । सार्वजनिक अडियोमा सुनिएको आवाज गुप्ताकै भएको भ्वाइस टेस्टले पुष्टि गरेपछि अख्तियारले उनलाई बयानका लागि बोलाएको हो ।

अडियोमा गुप्ताले तत्कालीन भूमि व्यवस्थामन्त्री बलराम अधिकारीले पैसा लिएर पनि काम नगरेको गुनासो गरेका छन् । उक्त अडियोमा कास्की मालपोतमा सरुवा, लिचिबारी जग्गा विवाद र भूमि आयोग अध्यक्ष नियुक्तिका विषयमा ७८ लाख रुपैयाँको ‘डिल’ भएको उल्लेख छ ।

बिचौलिया सुजन लामाले मन्त्री अधिकारीका छोरा र तत्कालीन भूमि सचिव अर्जुन पोखरेलसमेत संलग्न भएको बताएका अडियोसमेत सार्वजनिक भइसकेको छ । गुप्ताले राजीनामा दिए पनि घटनाको केन्द्रमा रहेका मन्त्री अधिकारी अझै पदमै रहेका छन् । यस प्रकरणमा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठसँग पनि आयोगले बयान लिएको छ ।

प्रतिक्रिया