काठमाडौं, ११ भदौ । प्राकृतिक विपद्का कारण देशका विभिन्न क्षेत्रमा जनधनको क्षति भइरहेका बेला विदेशमा रहेका नेपाली तथा नेपालमा सहयोग गर्न चाहने व्यक्तिहरूले आइएमईमार्फत निःशुल्क रकम पठाउन सक्ने भएका छन्।
आइएमईका अनुसार विदेशमा रहेका नेपाली तथा अन्य सहयोगी मनहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषका लागि विभिन्न बैंकमा रहेका खातामा आइएमईमार्फत सिधै निःशुल्क रकम जम्मा गर्न सक्नेछन्। यस सुविधाले विदेशबाट पठाइने सहयोग रकम सहज र सरल रूपमा सम्बन्धित कोषमा पुर्याउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
त्यस्तै, नेपालभित्रबाट पनि ‘खल्ती बाइ आइएमई’ मार्फत सरकारी राहत कोषमा सिधै निःशुल्क रकम जम्मा गर्न सकिने व्यवस्था गरिएको छ। विपद्को कठिन परिस्थितिमा प्रभावित परिवारलाई राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले यस्तो सुविधा उपलब्ध गराइएको आइएमईले जनाएको छ।
आइएमईले विपद्को यस संवेदनशील घडीमा सबैलाई आफ्नो क्षमता र सामर्थ्यअनुसार सहयोगका लागि हातेमालो गर्न आग्रह गरेको छ। प्रभावित परिवारको दुःखमा साथ दिँदै उद्धार, राहत तथा पुनःस्थापनाका प्रयासमा सरकारलाई आवश्यक सहयोग गर्न पनि कम्पनीले अपिल गरेको छ।
यसैबीच, रसुवा जिल्लाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट भएको अकल्पनीय मानवीय तथा भौतिक क्षतिप्रति आइएमई ग्रुप परिवारले गहिरो दुःख, सहानुभूति र ऐक्यबद्धता व्यक्त गरेको छ।
बाढीबाट प्रभावित सम्पूर्ण परिवार तथा आफन्तजनप्रति समवेदना व्यक्त गर्दै आइएमईले उद्धार, राहत तथा पुनःस्थापनामा अहोरात्र खटिनुभएका सुरक्षाकर्मी, स्वयंसेवक, स्थानीय समुदाय तथा सम्बन्धित निकायप्रति हार्दिक कृतज्ञता व्यक्त गरेको छ।