चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो सात महिनामा नेपालले ९ खर्ब ८८ अर्ब ५८ करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात गरेको छ। यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा १०.०९ प्रतिशतले बढी हो। गत आर्थिक वर्षको पहिलो सात महिनामा ८ खर्ब ९७ अर्ब ९४ करोड रुपैयाँको आयात भएको थियो।
आयातसँगै निर्यातमा पनि वृद्धि भएको छ। चालु आवको सात महिनासम्ममा नेपालले १ खर्ब २७ अर्ब २० करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा निर्यात गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा ४६.५० प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिमा निर्यात ८६ अर्ब ८३ करोड रुपैयाँ रहेको थियो।
यो अवधिमा नेपालको कुल वैदेशिक व्यापार ११ खर्ब १५ अर्ब ७९ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा १३.३० प्रतिशत बढी हो। गत वर्षको सोही अवधिमा कुल वैदेशिक व्यापार ९ खर्ब ८४ अर्ब ७७ करोड रुपैयाँ रहेको थियो।
व्यापार घाटा भने थप चुलिएको छ। माघ महिनासम्ममा व्यापार घाटा ८ खर्ब ६१ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा ६.२० प्रतिशत बढी हो। अघिल्लो वर्षको सोही अवधिमा व्यापार घाटा ८ खर्ब ११ अर्ब ११ करोड रुपैयाँ थियो।