कांग्रेसको प्रधानमन्त्रीलाई २४ घण्टे अल्टिमेटम : ‘भारतको कुन जग्गा नेपालले मिच्यो ?’

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाहले नेपालले भारतको केही भूभाग अतिक्रमण गरेको भन्ने अभिव्यक्तिको तथ्यगत आधार सार्वजनिक गर्न २४ घण्टे अल्टिमेटम दिएको छ।

सोमबार राष्ट्रियसभा बैठकमा आकस्मिक समय लिएर बोल्दै कांग्रेसका सांसद रञ्जित कर्णले प्रधानमन्त्रीले दाबी पुष्टि गर्न नसके जनतासमक्ष सार्वजनिक रूपमा माफी माग्नुपर्ने बताएका हुन्।

‘हिजो प्रतिनिधिसभामा प्रधानमन्त्रीज्यूले नेपालले पनि भारतको केही जग्गा मिचेको रहेछ भन्नुभयो,’ सांसद कर्णले भने, ‘२४ घण्टाभित्र नेपालले भारतको कुन–कुन स्थानको भूमि अतिक्रमण गरेको हो भन्ने तथ्य संसद् र जनतासामु प्रस्तुत गर्न आग्रह गर्दछु।’

कांग्रेसले प्रधानमन्त्रीले आफ्नो भनाइ पुष्टि गर्न नसके सार्वजनिक रूपमा क्षमा माग्नुपर्ने धारणा राखेको छ।

आइतबार प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री बालेन शाहले नेपाल–भारत सीमा विवादबारे बोल्दै आफू प्रधानमन्त्री बनेपछि नेपालले पनि भारतका केही स्थानमा भूमि मिचेको जानकारी पाएको बताएका थिए।

प्रधानमन्त्रीको उक्त अभिव्यक्तिपछि राजनीतिक वृत्तमा बहस सुरु भएको छ। कांग्रेसले सीमा सम्बन्धी विषय संवेदनशील भएकाले प्रधानमन्त्रीको भनाइबारे सत्यतथ्य पत्ता लगाउन छानबिन समिति गठन गर्न समेत माग गरेको छ।

सांसद कर्णले राष्ट्रिय हित र कूटनीतिक सम्बन्धसँग जोडिएको विषयमा सरकार स्पष्ट हुनुपर्ने भन्दै संसद्मार्फत आधिकारिक जानकारी दिन आग्रह गरेका छन्।

प्रतिक्रिया