☰

सरकारी बैंक तथा वित्तीय संस्थाहरुलाई रणनीतिक योजना बनाएर काम गर्न अर्थमन्त्री पौडेलको निर्देशन

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारी बैंक तथा वित्तीय तथा गैर वित्तीय संस्थाहरुलाई परिवर्तित सन्दर्भमा रणनीतिक योजना बनाएर उचित प्रतिफल आउने गरी काम गर्न निर्देशन दिएका छन्। अर्थ मन्त्रालयमा आयोजित बैठकमा उनले आवश्यक नीति तथा कानून बनाउन अर्थ मन्त्रालयले सहजीकरण गर्ने प्रतिवद्धता जनाउँदै त्यसका लागि अग्रसरता लिन आग्रह गरे।

अर्थमन्त्री पौडेलले सामान्य प्रगतिले नपुग्ने भन्दै अहिले देखिएका समस्याहरु समाधान गर्न सार्थक पहल गर्नुपर्ने बताए। उनले संस्थाको विश्वसनीयता बढाउनेतर्फ ध्यान दिनुका साथै खराब कर्जाको आकार घटाएर प्रतिफल दिने क्षेत्रमा लगानी गर्न जोड दिए।

बैठकमा सहभागी सरकारी बैंक तथा वित्तीय संस्थाका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृतले कर्जा असुलीमा चुनौती रहेको बताउँदै पूँजी वृद्धि र लगानी विस्तारका लागि ध्यान केन्द्रित गर्नुपर्ने धारणा राखेका थिए।

बैठकमा अर्थ सचिव, राजस्व सचिवसहित राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक लिमिटेड, कृषि विकास बैंक, कर्मचारी सञ्चय कोष, ग्रामीण विकास लघुवित्त वित्तीय संस्था, र निक्षेप तथा कर्जा सुरक्षण कोषका प्रतिनिधिहरुको उपस्थिति थियो।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय