जग्गा कारोबार बढ्दा सरकारले उठायो ४२ अर्ब राजस्व

कोरोनापछिको सुस्त गतिमा रहेको नेपाली घरजग्गा बजार अहिले पुनः उकासिएको देखिन्छ। विगत तीन वर्षसम्म लगभग ठप्पजस्तै देखिएको यो क्षेत्र अहिले पुनः सक्रिय बन्दै गएको छ। काठमाडौं उपत्यकादेखि लिएर देशका प्रमुख सहरी क्षेत्रसम्म निजी आवास निर्माण र भाडामा लगाइने घरहरूको सङ्ख्या तीव्र रूपमा बढिरहेको छ। यसले सम्पूर्ण बजारमा नयाँ ऊर्जा थपिएको आभास दिन थालेको छ।

कित्ताकाट र जग्गा पासको प्रक्रिया समेत छिटो भइरहेकाले लगानीकर्ताहरूको आत्मविश्वास अझै बढेको देखिन्छ। निजी तथा व्यावसायिक प्रयोजनका लागि जग्गा खरिदमा देखिएको चासो र सरकारी नीतिको लचकताले बजारमा थप गतिविधि बढाएको छ। सस्तो कर्जा योजना, घट्दो ब्याजदर, र मालपोत प्रणालीमा प्रविधिको प्रयोगले बजारलाई सकारात्मक दिशातर्फ धकेलेको छ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार चालु आर्थिक वर्षको जेठ महिनामा मात्रै देशभर ५६ हजार १० वटा घरजग्गा किनबेच भएका छन्। यो अघिल्लो महिनाको तुलनामा ६.८४ प्रतिशतले बढी हो। बैशाखमा यो संख्या ५२ हजार ४२३ थियो भने चैतमा ४९ हजार ८३२ थियो।

घरजग्गा कारोबारमा इनरुवा, सुनसरी, मोरङ, जनकपुर, झापा, सप्तरी, सिरहा, सर्लाही, कैलाली, दाङ, बारा, र भक्तपुर लगायतका जिल्लाहरू अगाडि छन्। यी जिल्लाहरूमा मात्र जेठमा १ हजारदेखि २ हजार हाराहारीमा कारोबार भएको छ।

चालु आवको ११ महिनामा देशभर कुल ४ लाख ८२ हजार ६०४ वटा घरजग्गा कारोबार भएको छ। यद्यपि, यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा १.७३ प्रतिशत कम हो। तर पछिल्ला महिनाहरूको तथ्यांक हेर्दा बजार विस्तारै पुनः तातिरहेको देखिन्छ।

साउनदेखि फागुनसम्मको मासिक तथ्याङ्कअनुसार कारोबार क्रमशः बढ्दो क्रममा देखिन्छ—साउनमा ४३ हजार ८३५, भदौमा ३२ हजार ७९८, असोजमा ३० हजार ५२७, कात्तिकमा ३३ हजार ५१४, मंसिरमा ४३ हजार ३७९, पुसमा ४८ हजार १५६, माघमा ४६ हजार ६९ र फागुनमा ४६ हजार ६१ वटा कारोबार भएका थिए।

बजारको पुनः सक्रियतासँगै सरकारले संकलन गर्ने राजस्वमा पनि उल्लेख्य वृद्धि भएको छ। जेठमा मात्रै ४ अर्ब ७२ करोड ७० लाख रुपैयाँभन्दा बढी राजस्व संकलन भएको छ, जुन गत आवको सोही महिनाको तुलनामा ८.९४ प्रतिशतले बढी हो। चालु आवको ११ महिनामा सरकारलाई घरजग्गा कारोबारबाट ४२ अर्ब ४९ करोड ४२ लाख रुपैयाँभन्दा बढी राजस्व प्राप्त भएको छ।

सरकारले अपनाएको नीति सुधार, बैंकहरूले ल्याएका कर्जाको सुविधा, मालपोत प्रणालीको डिजिटल प्रणाली, र नयाँ सहरी क्षेत्रको विकासले घरजग्गा बजारमा नयाँ आशा र गति सिर्जना गरेको छ। दीर्घकालीनरूपमा बजार अझ विस्तार हुने अपेक्षा पनि गरिएको छ।

प्रतिक्रिया