लामो खडेरीपछि वर्षा र हिमपात, म्याग्दीका किसान खुसी

म्याग्दी — जिल्लाका विभिन्न स्थानमा हिमपात र हिउँदे वर्षा भएको छ, जसले किसानलाई ठूलो राहत प्रदान गरेको छ। लामो समयको खडेरीका कारण हिउँदे गहुँ, जौँ, आलु, सागसब्जी तथा फलफूलखेती प्रभावित बनेका थिए।

रघुगङ्गा गाउँपालिका–३ का किसान नरबहादुर भण्डारीका अनुसार शनिबार दिउँसो जमिन भिज्ने गरी भएको वर्षाले खेतबारीमा लगाइएको मकै, सिमी तथा अन्य बालीमा सिँचाइ भएको छ।

यस वर्ष म्याग्दीका उच्च पहाडी क्षेत्रमा दोस्रोपटक हिमपात भएको हो। गुर्जा, कुइनेमङ्गले, मल्कबाङ लगायत उच्च पहाडी क्षेत्रमा साँझपखदेखि हिउँ पर्ने क्रम जारी छ। धवलागिरि गाउँपालिका–५, मल्कबाङका हिमबहादुर छन्त्यालका अनुसार हिउँदयाममा सुक्खा मौसमले खेतीबाली तथा घाँसपातमा असर गरेको थियो तर अहिलेको वर्षासँगै परेको हिमपातले राहत मिलेको छ।

पुनहिल, घोडेपानी, खोप्रालेक, खयरलेक, मोहरेडाँडालगायतका पर्यटकीयस्थलहरूमा पनि हिमपात भएको छ। हिउँ खेल्नका लागि ती स्थानमा आन्तरिक पर्यटकहरूको चहलपहल बढेको पर्यटन व्यवसायीहरूले बताएका छन्।

प्रतिक्रिया