काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले गठबन्धनको राजनीतिले नेपालको राजनीतिलाई दूषित बनाएको बताएका छन्। राष्ट्रिय सभागृहमा आयोजित प्रतिज्ञा पत्रसम्बन्धी सिधा प्रश्नोत्तर कार्यक्रममा उनले पार्टी सञ्चालन र सरकार सञ्चालनका क्रममा भएका कमी–कमजोरी सच्याउँदै कांग्रेस अघि बढ्ने प्रतिबद्धता जनाए।
‘बदलिएर आएको नेपाली कांग्रेसले देश बदल्छ भन्ने संकल्प लिएर आएका छौँ,’ उनले भने, ‘हामी हाम्रा मूल्य–मान्यतालाई अझै तिखारेर जान्छौँ।’
थापाले सत्ता र शक्तिका लागि हुने गठबन्धन संस्कारले राजनीतिक प्रणाली कमजोर बनेको उल्लेख गर्दै यसपटकदेखि कांग्रेसले कसैसँग पनि गठबन्धन नगर्ने प्रतिज्ञा गरे। उनका अनुसार चुनावमा मात्र होइन, सरकार गठनपछि हुने संवैधानिक तथा राजनीतिक नियुक्तिमा समेत भागबण्डा अन्त्य गरिनेछ।
‘चुनावमा मात्रै होइन, सरकार बनिसकेपछि पनि विभिन्न संवैधानिक तथा राजनीतिक नियुक्तिमा भागबण्डा हुँदैन, हुन दिँदैनौँ। यो बदलिएको कांग्रेसको संकल्प हो,’ उनले भने। उनले कांग्रेसको नेतृत्वमा सरकार बनेमा कुनै पनि नागरिक अपमानित हुन नपर्ने विश्वास व्यक्त गरे।