पाल्पामा जिप दुर्घटना: तीन जनाको मृत्यु, दुई घाइते

Symbolic photo

पाल्पा — पाल्पा जिल्लाको रैनादेवी छहरा गाउँपालिका–१ मा आइतबार राति जिप दुर्घटना हुँदा  तीन जनाको मृत्यु भएको छ भने चालकसहित दुई जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार लु ३ च २३५७ नम्बरको जिप असारेबाट ठूलोपोखरीतर्फ जाँदै गर्दा दुर्घटनामा परेको हो।

प्रहरीका सूचना अधिकारी तथा डिएसपी सुनिल मल्लका अनुसार जिप आइतबार राति करिब १० बजेर १० मिनेट जाँदा अनियन्त्रित भई सडकबाट करिब २०० मिटर तल खसेको थियो। जिपमा सवार पाँच जना व्यक्तिहरूमध्ये तीन जनाको गम्भीर चोटका कारण उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो।

दुर्घटनामा ज्यान गुमाउनेहरूमा रैनादेवी छहरा गाउँपालिका–१ असारेका २२ वर्षीय जनक रेगामी, ३६ वर्षीय दिपेन्द्र बुढा र ३१ वर्षीय चेतनारायण विक रहेका छन्। उनीहरूलाई तुरुन्तै उद्धार गरी उपचारका लागि अस्पताल पुर्‍याइएको भए पनि गम्भीर घाइते भएका कारण ज्यान जोगाउन सकिएन।

यस घटनामा २७ वर्षीय जिप चालक रञ्जन रेस्मी र २२ वर्षीय सरोज बुढा घाइते भएका छन्। दुवै जनाको हाल पाल्पास्थित मिसन अस्पतालमा उपचार भइरहेको छ। प्रहरीका अनुसार घाइतेहरूको अवस्था मध्यम रहेको र अस्पतालमा चिकित्सकीय निगरानीमा राखिएको छ।

 

प्रतिक्रिया