निर्वाचन आयोगले नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा निर्वाचित केन्द्रीय कार्यसमितिलाई आधिकारिक मान्यता दिने निर्णय गरेको छ। आयोगले दुवै पक्षबाट पेश भएका विवरण, कागजात र प्रमाणको अध्ययनपछि विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई नै वैधानिक ठहर गर्दै सोही विवरण अद्यावधिक गर्ने निर्णय गरेको हो।
आयोगका तीन पदाधिकारीमध्ये दुई जनाले पक्षमा र एक जनाले विपक्षमा मत दिँदा बहुमतका आधारमा निर्णय गरिएको स्रोतले जनाएको छ। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी तथा निर्वाचन आयुक्त सगुनशमशेर राणाले समर्थनमा राय दिएका थिए भने अर्का आयुक्त जानकी तुलाधरले विपक्षमा मत दिएको जनाइएको छ।
सभापति गगन थापा सहित नवनिर्वाचित केन्द्रीय कार्यसमितिले आफ्नो वैधानिकता दाबी गर्दै बिहीबार दिउँसो निर्वाचन आयोगमा पार्टीको विवरण अद्यावधिक गर्न निवेदन दिएका थिए। सो अवसरमा थापाले विशेष महाधिवेशनसँग सम्बन्धित तथ्य, प्रमाण र आवश्यक कागजात कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीसमक्ष बुझाएका थिए।
यसैबीच, कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्का सहितका नेताहरूले शेरबहादुर देउवा नेतृत्वको केन्द्रीय कार्यसमिति नै आधिकारिक रहेको दाबी गर्दै शुक्रबार बिहान निर्वाचन आयोग पुगेका थिए। खड्काले पार्टीका निर्णय, प्रतिवेदन र अन्य दस्तावेज आयोगमा बुझाउँदै आफ्नो पक्षको दाबी प्रस्तुत गरेका थिए।