राखेपद्वारा एन्फा नेतृत्व ३ महिनाका लागि निलम्बित

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फा) नेतृत्वलाई निलम्बन गरेको छ।

पटकपटक दिएको निर्देशन पालना नगरेपछि खेलकुद विकास नियमावली २०७७ को दफा २९ (२) अनुसार एन्फा नेतृत्वमाथि कारबाही गरिएको हो। उक्त व्यवस्थाअनुसार परिषद्को निर्देशन अवज्ञा गर्ने संघलाई तीन महिनासम्म निलम्बन गर्न सकिने प्रावधान रहेको छ।

यससँगै पंकज विक्रम नेम्बाङ नेतृत्वको एन्फा तीन महिनाका लागि निलम्बनमा परेको छ।

एन्फा नेतृत्वले कार्यकाल सकिनुभन्दा तीन महिनाअघि नै विधानमा व्यवस्था नभएको ‘अग्रिम निर्वाचन’ गर्न खोजेपछि विवाद सुरु भएको थियो। निर्वाचन प्रक्रिया अघि बढाएपछि राखेपले स्वीकृतिबिना निर्वाचन नगर्न पटकपटक निर्देशन दिएको थियो।

तर एन्फाले उक्त निर्देशन अवज्ञा गर्दै चैत १३ गते निर्वाचन गर्ने तयारी अघि बढाएपछि राखेपले कारबाही प्रक्रिया अघि बढाएको हो।

यसअघि राखेपले मंगलबार २४ घण्टे अल्टिमेटम दिँदै ‘किन कारबाही नगर्ने?’ भन्ने स्पष्टिकरण मागेको थियो। एन्फाले निर्वाचन नरोकिने जवाफ पठाएपछि अन्ततः निलम्बनको निर्णय गरिएको हो।

प्रतिक्रिया