घट्न थाल्यो बैंकको ब्याज

काठमाडौ - बैंकहरूमा लगानी योग्य पुँजी सहज हुन थालेपछि बैंकहरूले कर्जाको ब्याजदर घटाउन थालेका छन् ।

विकास बैंक र फाइनान्स कम्पनीले यस अघि नै मंसिर महिनामा कर्जाको ब्याज घटाउने सहमति गरेपनि वाणिज्य बैंकहरू कार्तिक महिनाको ब्याजलाई नै यथास्थितिमा राख्ने सहमति गरेका थिए ।

यद्यपि नेपाल इन्भेष्टमेन्ट बैंकले ११.१८ प्रतिशतमै कर्जा दिने भएको छ । बैंकले साना तथा मझौला व्यवसायीलाई उपलब्ध गराउने उद्देश्यका साथ ल्याएको यो योजना अहिले बैकिङ क्षेत्रमा चलेको ब्याजदरभन्दा एकदमै कम हो । बैंकले ‘मेहनती हातलाई हाम्रो साथ’ भन्ने साना तथा सझौला व्यवसाय कर्जा सो ब्याजदरमा उपलब्ध गराउन लागेको हो ।

नेपाल इन्भेष्टमेन्ट बैंकले साना तथा मझौला व्यवसायीलाई लक्षित गरी सो ब्याजदरमा २ करोड रुपैयाँसम्म कर्जा उपलब्ध गराउने नयाँ योजना ल्याएको छ । बैंकले यो योजना सार्वजनिक गरेपछि ब्याजदर यथास्थितिमा राख्ने भनेर बसेका बैंकहरूलाई ब्याजदर घटाउन प्रेसर पर्नेछ ।

इन्भेष्टमेन्ट बैंकले मंसिर महिना मै कर्जाको ब्याजदर घटाएपछि अन्य वाणिज्य बैंक पनि पुसमा ब्याजदर घटाउन बाध्य हुनेछन् ।नेपाल इन्भेष्टमेन्टले ल्याएको यो योजना अन्तर्गत दिने भनेको ब्याजदर हाल बैंकहरूले मुद्दति निक्षेपमा दिने ब्याजदर भन्दा पनि कम हो ।

वाणिज्य बैंकहरूले साधारण मुद्दतिको ब्याज दर १२.१३ प्रतिशत यथावत राखेका छन्।विकास बैंकहरूले भने मंसिर महिनामा १३ प्रतिशतको ब्याज दर ०.१५ प्रतिशतले घटाएर १२.८५ प्रतिशतमा झारेका छन् । फाइनान्स कम्पनीहरुले पनि ०.१५ देखि ०.२० प्रतिशतसम्मले ब्याज घटाएका छन्।

तीन महिने मुद्दतिको ०.२० प्रतिशत र त्योभन्दा बढीको ०.१५ प्रतिशतले घटाएका छन् । फाइनान्स कम्पनीमा अहिले एक वर्षे मुद्दतिको ब्याज दर १३.३० प्रतिशत कायम भएको छ । तीन महिनेको १३ प्रतिशत कायम भएको छ ।

कार्तिक महिनाको अन्तिम साता बैंकहरूमा निक्षेप बढेको छ । अहिले निर्वाचन पनि सकिएकोले निर्वाचनमा गरिएको खर्च पनि अब बैकिङ प्रणालीमा आउन थाल्छ र केहि विकास निर्माणका कामहरू पनि अघि बढ्ने हुनाले सरकारी खर्च पनि बढ्छ ।

यसका साथै रेमिट्यान्स बढेर आउन थालिसकेको छ । यी सबै कारणले गर्दा इन्भेष्टमेन्ट बैंकले जस्तै अन्य बैंकले पनि अब विस्तारै ब्याजदर घटाउन थाल्ने छन् ।

प्रतिक्रिया