चितवनको राप्ती नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको खहरे पुलमा आज बिहान भएको सवारी दुर्घटनामा ७ जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन्।
धनगढीबाट काँकडभित्तातर्फ गइरहेको प्रदेश १–०१–००१ ख ३५८३ नम्बरको यात्रुबाहक बस र मकवानपुरबाट नारायणगढतर्फ आइरहेको बागमती प्रदेश ०३–००१ ज २९९ नम्बरको इलेक्ट्रिक गाडी बिहान १०:१५ बजे एक आपसमा ठोक्किँदा दुर्घटना भएको हो।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार दुर्घटनामा घाइते भएका मध्ये केहीको अवस्था गम्भीर रहेको छ। घाइतेहरूलाई भरतपुरस्थित सरकारी र निजी अस्पतालहरू—भरतपुर अस्पताल, एलाईभ अस्पताल, पुरानो मेडिकल कलेज र नयाँ मेडिकल कलेजमा उपचारका लागि लगिएको छ।
भरतपुर अस्पतालमा मृत्यु हुनेहरूमध्ये पहिचान खुलेका पाँच जनामा मकवानपुर हटिया–३ का ५५ वर्षीय सोमप्रसाद रुपाखेती, हेटौंडा–५ की ५३ वर्षीया मैया कुमारी न्यौपाने पहाडी, र अन्य नाम नखुलेका १८–१९ वर्षकी महिला, २२–२३ वर्षीय पुरुष, ३०–३५ वर्षीया गर्भवती महिला, २४–२५ वर्षीया महिला र ३५–४० वर्षीय पुरुष छन्।
एलाईभ अस्पतालमा घाइतेको उपचार गराइरहेका व्यक्तिमा सक्षम थापा (१६), सिंहबिर घलान (३२), विष्णु लम्साल (३१), गंगा घलान (३४) छन्। पुरानो मेडिकल कलेजमा सुशीला बराल (६५) र उमा बराल (६७) झापा गौरादह–९ बाट, वीरबहादुर जैसी (४८) कञ्चनपुर बेलौरी–४ बाट र सन्देश ओली (३०) रुकुम पश्चिम आठबिस्कोट–९ बाट रहेका छन्। नयाँ मेडिकल कलेजमा १० जनाको उपचार भइरहेको छ, जसको अवस्था सामान्य छ।
दुर्घटनापछि दुवै सवारी साधन घटनास्थलमै रहेकाले पूर्व–पश्चिम राजमार्ग केही समयका लागि पूर्ण अवरुद्ध भएको थियो। हाल क्रेनको सहायताले बाटो खुलाउने प्रयास भइरहेको र डाइभर्सनमार्फत सवारी चलाइएको प्रहरीले जनाएको छ।
घटनास्थलमा इलाका प्रहरी कार्यालय भण्डाराबाट प्रहरी निरीक्षक रुपेश बिष्ट, खैरहनीबाट निरीक्षक प्रदिपजंग महत र टाँडीबाट नायब उपरीक्षक रन्जन अवाको नेतृत्वमा ४५ जनाको प्रहरी टोली परिचालन गरिएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता रविन्द्र खनालले जानकारी दिए।