नेपाली कांग्रेसका सांसदहरूले मन्त्रीहरूको कार्यक्षमतामाथि उठाए प्रश्न

काठमाडौं - नेपाली कांग्रेसका सांसदहरूले मन्त्रीहरूको कार्यप्रणालीमाथि गम्भीर प्रश्नहरू उठाएका छन्। सोमबार बसेको संसदीय दलको बैठकमा सांसदहरूले मन्त्रीहरूको कार्यशैली र प्रदर्शनमाथि गहिरो आलोचना गरेका थिए। सांसद बिनाकुमारी थनैतले सांसदहरूले मन्त्रीहरूको कार्यक्षमतामाथि प्रश्न उठाएको बताइन्। उनले भनिन्, 'भविष्यमा समस्याहरू नबढोस् भनेर सांसदहरूले सुझाव दिएका छन्। प्रश्नहरू पनि उठेका छन्।'

अर्का सांसदले सरकारलाई टिकाउन मन्त्रीहरू मात्रै पर्याप्त नभएको बताए। उनले भने, 'मन्त्रीहरूले जनताको मन जित्ने कुरा गरे तर काम गर्ने क्षमता देखाउन सकेनन्।' सांसद चन्दा चौधरीले सरकारले जनताको आशा पूरा गर्न नसकेको बताए। उनले भनिन्, 'दुईतिहाइको सरकारले पनि जनताको अपेक्षा पूरा गर्न सकेन, अब कस्तो सरकारले गर्छ भनेर चिन्ता व्यक्त गरिएको छ।'

प्रश्नहरू उठेपछि सभापति शेरबहादुर देउवाले मन्त्रीहरूलाई सांसदहरूसँग समन्वय गरेर काम गर्न निर्देशन दिए। सांसद चौधरीले भनिन्, 'सभापतिजीले समन्वयमा काम गर्न निर्देशन दिनुभएको छ।'

बैठकमा प्रकाशशरण महत, विमलेन्द्र निधि, वीरबहादुर बलायर, रामहरि खतिवडा, चन्द्र भण्डारी, दीपक कार्की, रामकृष्ण यादव, सञ्जय गौतम, प्रतीमा गौतम, राजन केसी, कान्तिका सेजुवाल, हृदयराम थानी, पुष्पबहादुर शाही, सरिता प्रसाईं, ज्ञानेन्द्रबहादुर कार्की, सरस्वती बजिमय, मैना कार्की, शंकर भण्डारी, राजेन्द्र बजगाईंलगायतले धारणा राखेका थिए।

अर्को बैठक १८ गते बिहान बस्ने प्रमुख सचेतक श्यामकुमार घिमिरेले जानकारी दिएका छन्। १८ गते संसद्को अधिवेशन सुरु हुँदैछ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय