राष्ट्र बैंकले नागरिकसँग उठाउँदै ३ अर्ब ऋण

काठमाडौं । नेपाल राष्ट्र बैंकले ५० करोड रुपैयाँको वैदेशिक रोजगार बचतपत्र निष्काशन गर्ने भएको छ । विदेशमा काम गरेर पैसा कमाइरहेका वा वैदेशिक रोजगारीबाट फर्केको ६ महिना नपुगेका नेपालीले उक्त बचतपत्रमा लगानी गर्न पाउने छन् । यसका लागि वैदेशिक रोजगारीमा श्रम स्वीकृति लिएर जाने नेपालीमात्र नभइ विद्यार्थी वा अन्य भिसामा विदेश गएको भए पनि विदेशमा आर्जन गरेको प्रमाण जुटाएर लगानी गर्न पाइन्छ ।

 

मुलुकबाहिर रोजगारीमा रहेक वा वैदेशिक रोजगारीबाट फर्केका नेपालीको परिवारले पनि वैदेशिक रोजगार बचतपत्रमा लगानी गर्न पाउँछन् । विदेशमा रोजगारी गर्ने व्यक्तिको बुवा, आमा, श्रीमान्, श्रीमती, छोरा वा छोरीले यस्तो बचतपत्रमा लगानी गर्न पाउने व्यवस्था छ । भातरमा गएर मौसमी रोजगारी गर्नेले पनि उतैबाट फारम भरेर बचतपत्रमा लगानी गर्न पाउने छन् ।

राष्ट्र बैंकले यो बचतपत्रमा साढे १२ प्रतिशत ब्याज दिने भनेको छ । ५ वर्षसम्म ब्याज घटबढ नहुने ढुक्क भएकाले बैंकमा निक्षेप राख्नुभन्दा बचतपत्रमा लगानी गर्नु निकै फाइदा हुने देखिएको छ । अहिले बाणिज्य बैंकले मुद्दति निक्षेपमा ११ प्रतिशत ब्याज दिइरहेको भए पनि अव विस्तारै ब्याज घटाउँदै लाने संभावना बढेको छ । चैत १ गतेदेखि नै बचत खाताको ब्याज घटाउन लागेका बैंकले सम्भवतः वैशाखदेखि मुद्दति निक्षेपको ब्याजदर थप १ प्रतिशत विन्दु घटाएर १० प्रतिशतमा झार्ने संभावना उच्च छ ।

 

बचतपत्रमा आवेदन दिन राष्ट्र बैंकले आगामी चैत ३ गतेसम्मका लागि म्याद दिएको छ । राष्ट्र बैंकले बचतपत्रमा आवेदन संकलन गर्न नेपालभित्र विभिन्न बैंकका साथै विदेशमा पनि एजेण्ट परिचालन गरेको छ । कतार, साउदी अरब, भारत, संयुक्त अरब इमिरेट्स, ओमन, दक्षिण कोरिया, इजरायल, जापान, मलेसिया, इराक, कुवेत र अस्ट्रेलियामा विभिन्न बैंक तथा रेमिटेन्स कम्पनीलाई विक्री एजेण्ट तोकिएको राष्ट्र बैंकले जनाएको छ ।

यसका लागि राष्ट्र बैंकको वेवसाइटबाट फारम डाउनलोड गरेर भर्ने र उक्त फारम तोकिएको बैंक तथा वित्तीय संस्था वा विदेशस्थित सम्पर्क कार्यालयमा बुझाउन सकिने छ । सक्षम व्यक्तिले राष्ट्र बैंकको यो लिंकमा गएर सिधै आवेदन दिन पनि सकिने छ ।

केन्द्रिय बैंकले आम सर्वसाधारणका लागि पनि हालैमात्र २ अर्ब ५० करोडको नागरिक बचतपत्र जारी गरेको छ । यही फागुन ३० गतेसम्म आवेदन दिन सकिने उक्त बचतपत्रमा भने साढे ११ प्रतिशतमात्रै ब्याज दिने भनेको छ ।

प्रतिक्रिया