काठमाडौं । नेपाल पर्यटन बोर्ड र टिकटकबीच नेपाललाई विश्वसामु परिचित गराउन विशेष साझेदारी भएको छ। यस अन्तर्गत #LifetimeExperiences नामक अभियान सुरु गरिएको छ, जसले नेपालका हिमाल, प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा र परम्परालाई छोटा टिकटक भिडियोमार्फत विश्वव्यापी दर्शकमा पुर्याउनेछ।
सम्झौतापत्र आदानप्रदान कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले यो सहकार्य नेपालको पर्यटन प्रवर्द्धनमा ऐतिहासिक कदम भएको उल्लेख गरे। उनले टिकटक जस्तो विश्वव्यापी प्लेटफर्ममार्फत नेपालका हिमाल, संस्कृति, उत्सव र आतिथ्यलाई करोडौं दर्शकसम्म पुर्याउने अवसर मिल्ने विश्वास व्यक्त गरे।
नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपक राज जोशीले यो सहकार्यले नेपालको सौन्दर्यलाई विश्वभर पुर्याउने लामो प्रयासलाई बल दिने बताए। उनका अनुसार, अन्तर्राष्ट्रिय स्तरका ट्राभल क्रियेटरलाई नेपालमा निम्त्याइनेछ र उनीहरूले हिमाल, ताल, मठ–मन्दिरदेखि गाउँठाउँका होमस्टेसम्म पुगेर भिडियोमार्फत प्रचार गर्नेछन्।
साझेदारीअन्तर्गत टिकटकले नेपालमै कार्यशाला आयोजना गर्नेछ, जसमा नेपाली कन्टेन्ट क्रियेटरलाई ब्रान्ड सहकार्य, विश्वस्तरीय प्रस्तुति र दर्शक विस्तारबारे तालिम दिइनेछ।