‘तीन दिनमा जीवनभर नभएको निन्दा खेपेँ’ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको संस्थापन इतर समूहको तीनदिने भेलापछि आफूले पछिल्ला तीन दिनमा जीवनभर नभोगेको निन्दा खेप्नुपरेको बताएका छन्।

काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै थापाले इतर समूहको भेलामा आफ्नो नेतृत्वप्रति गरिएको आलोचनाबारे सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपाबाट विस्तृत धारणा सार्वजनिक गर्ने बताए।

उनले सञ्चारकर्मीलाई आफूले तत्काल प्रतिक्रिया नदिने भन्दै सोमबार सानेपाबाटै सबै विषयमा स्पष्ट धारणा राख्ने बताए। ‘मेरो जीवनभर नभएको निन्दा यो तीन दिनमा भएको छ। कसले कति निन्दा गरेको छ, त्यो जीवनमा नभएको निन्दा यी तीन दिनमै आयो,’ उनले भने।

काठमाडौंमा सम्पन्न कांग्रेसको संस्थापन इतर समूहको तीनदिने भेलामा सहभागी अधिकांश नेताहरूले सभापति थापाको नेतृत्व र कार्यशैलीको आलोचना गरेका थिए। भेलामा पार्टी सञ्चालन, नेतृत्वको कार्यशैली तथा आगामी राजनीतिक दिशाबारे विभिन्न धारणा व्यक्त भएका थिए।

यसैबीच, सभापति थापाले राजनीतिमा सफलताको मापदण्ड पद वा सत्ता प्राप्तिलाई मात्र मान्न नहुने बताएका छन्। उनले पार्टीलाई वास्तविक राष्ट्रिय शक्ति बनाउन उच्च नैतिक बल, विचार र कार्यकर्ताको त्यागलाई सम्मान गर्ने संस्कार आवश्यक रहेको बताए।

उनले लेखक धर्म गौतमको राजनीतिक जीवनलाई उदाहरणका रूपमा प्रस्तुत गर्दै पदमा पुग्नु मात्रै राजनीतिक सफलताको मापदण्ड नभएको बताए। ‘सफलताको मानक कसले कति सत्ता पायो भन्ने मात्र होइन,’ थापाले भने, ‘धर्म गौतमको राजनीतिक जीवन यस अर्थमा सफल छ कि उहाँसँग उच्च नैतिक बल छ, जुन पदमा बस्नेहरूसँग नहुन सक्छ।’

थापाले कांग्रेसलाई बलियो र वास्तविक राष्ट्रिय शक्ति बनाउन संगठनभित्रको आलोचना, आत्मसमीक्षा र कार्यकर्ताको योगदानलाई उचित सम्मान गर्दै अघि बढ्नुपर्ने संकेत गरेका छन्।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय