काठमाडौं । अविरल वर्षापछि आएको पहिरोमा परी रोल्पामा मृत्यु हुनेको संख्या सात पुगेको छ। रोल्पाको थवाङ गाउँपालिका–५ कोटलबारामा गएराति आएको पहिरोमा परी सात जनाको मृत्यु भएको हो भने पाँच जना अझै बेपत्ता छन्।
सशस्त्र प्रहरीका डीएसपी शैलेन्द्र थापाका अनुसार पहिरोमा परी मृत्यु हुनेमा स्थानीय १८ वर्षीया शान्ति पुन मगर, ६५ वर्षीय कमलबहादुर पुन मगर, ४० वर्षीया जुनकुमारी पुन मगर, ९ वर्षीय अशिम पुन मगर, ६ वर्षीय अशोक पुन मगर, ७५ वर्षीय दलबहादुर पुन मगर र ७१ वर्षीया मनरखी पुन मगर रहेका छन्।
पहिरोमा परी २२ वर्षीय हिमाल पुन मगर र २५ वर्षीय संजय घर्तीमगर घाइते भएका छन्। उनीहरूलाई थवाङ स्वास्थ्य चौकीमा प्राथमिक उपचारपछि थप उपचारका लागि बुटवल पठाइएको छ।
पहिरोमा परी मृत्यु भएका मध्ये एक महिला र दुई पुरुषको शव प्यूठानको स्वर्गद्वारी नगरपालिका र माण्डवी गाउँपालिकास्थित माडी खोलाको किनारमा फेला परेको प्रहरीले जनाएको छ।
बेपत्ता हुनेमा थवाङ–५ का ८० वर्षीय अजम्बर पुन मगर, ७८ वर्षीय बलबहादुर पुन मगर, ७२ वर्षीय लिलबहादुर पुन मगर, ७१ वर्षीया मनि पुन मगर र ६७ वर्षीया हस्तकला पुन मगर रहेका छन्।
बेपत्ताको खोजी तथा उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोली घटनास्थलमा परिचालन गरिएको छ। लगातार वर्षा भइरहेका कारण लेदोसहितको पहिरो खसिरहेकाले खोजी तथा उद्धार कार्यमा कठिनाइ भइरहेको डीएसपी थापाले जानकारी दिए।