सिंगापुर । एसीयन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको सेमिफाइनलमा नेपालले ओमानलाई ८ विकेटले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको छ।
ओमानले दिएको ९५ रनको सामान्य लक्ष्य नेपालले ९.२ ओभरमै २ विकेट गुमाएर पूरा गर्यो। नेपालका लागि लोकेश बमले उत्कृष्ट ब्याटिङ गर्दै अविजित ४४ रन बनाए भने कप्तान रोहित पौडेल २१ रनमा अविजित रहे। यसअघि कुशल भुर्तेलले २० रन तथा आसिफ शेखले १ रन जोडेका थिए।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ओमान १९.४ ओभरमा सबै विकेट गुमाउँदै ९४ रनमा समेटिएको थियो। ओमानका कप्तान सुफयान महमूदले सर्वाधिक ३८ रन बनाए भने जुबैर अली अकबरले २२ रन र अब्दुलजलिल खानले १६ रनको योगदान दिए।
नेपालका बलरहरूले उत्कृष्ट प्रदर्शन गर्दै ओमानलाई ठूलो स्कोर बनाउन दिएनन्। करण केसीले ३ विकेट लिए भने सोमपाल कामी र सन्दीप लामिछानेले समान २–२ विकेट हात पारे। यस्तै, शाहब आलम, कुशल मल्ल र दीपेन्द्र सिंह ऐरीले एक–एक विकेट लिए।
यो जितसँगै नेपाल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। अब नेपालले फाइनलमा हङकङ र मलेसियाबीचको दोस्रो सेमिफाइनलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। हङकङ र मलेसियाबीचको खेल दिउँसो सवा १२ बजेदेखि हुने तालिका रहेको छ।