काठमाडौं । इरान, इजरायल र संयुक्त राज्य अमेरिकाबीच जारी द्वन्द्व ३१औँ दिनमा प्रवेश गरेको छ। लामो समयदेखि जारी यस तनावले क्षेत्रीय अवस्था झनै जटिल र संवेदनशील बनाएको छ।
यसैबीच, इरानले दक्षिणी इजरायलस्थित एक रासायनिक उद्योगमा मिसाइल आक्रमण गरेको छ। आक्रमण बियरशेवा सहर नजिकको नियोत होवाव औद्योगिक क्षेत्रमा भएको हो। उक्त आक्रमणपछि उद्योगमा भीषण आगलागी भएको छ भने विषाक्त ग्यास चुहावटको सम्भावना बढेको बताइएको छ। घटनामा एक व्यक्ति घाइते भएका छन्।
आक्रमणपछि स्थानीय प्रशासनले आसपासका बासिन्दालाई घरभित्रै बस्न र झ्याल–ढोका बन्द राख्न निर्देशन दिएको छ। उक्त उद्योगमा खतरनाक रसायन भण्डारण गरिएको जनाइएको छ।
यसै क्रममा इरानको उत्तरी क्षेत्रमा रहेको एक पेट्रोकेमिकल उद्योगलाई पनि निशाना बनाइएको समाचार छ। स्थानीय सञ्चार माध्यमका अनुसार, तब्रिजस्थित उक्त उद्योगमा आक्रमण भए पनि हालसम्म कुनै खतरनाक रसायन बाहिर फैलिएको पुष्टि भएको छैन।
इरानको संयुक्त सैन्य कमान्डका प्रवक्ताले आइतबार जारी गरेको विज्ञप्तिमा अब अमेरिका र इजरायलका अधिकारीहरूको निजी निवासलाई पनि ‘वैध लक्ष्य’ मानिने चेतावनी दिएका छन्। यस कदमले पश्चिम एसियामा रहेका अमेरिकी र इजरायली सैन्य तथा राजनीतिक अधिकारीहरूलाई दबाब दिने उद्देश्य राखिएको जनाइएको छ।
त्यसैगरी, दक्षिण लेबनानको एक सहरमा इजरायलले गरेको हवाई आक्रमणमा पाँच जनाको मृत्यु भएको छ भने अन्य दुईजना घाइते भएका छन्।