साताको अन्तिम कारोबार दिन नेपाली शेयर बजार नेप्से परिसूचक ओरालो लागेको छ। अघिल्लो साताको अन्तिम दिनदेखि सुरु भएको गिरावट बिहीबार पनि कायम रहँदै नेप्से ८.४१ अंकले घटेर २६११.८५ विन्दुमा पुग्यो। त्यस्तै, सेन्सेटिभ इन्डेक्स १.४४ अंकले, फ्लोट इन्डेक्स ०.६८ अंकले र सेन्सेटिभ फ्लोट इन्डेक्स पनि ०.६८ अंकले घटेका छन्।
बजारमा कारोबार रकम पनि घटेको देखिएको छ। बुधबार ८ अर्ब ७३ करोड रुपैयाँभन्दा बढीको कारोबार भएकोमा बिहीबार ७ अर्ब ८ करोड ३३ लाख रुपैयाँबराबरको मात्रै कारोबार भयो। कुल ३२० कम्पनीको ७८ हजार ४९३ पटकको कारोबारबाट १ करोड ७४ लाख २३ हजार कित्ता सेयर किनबेच भएको हो।
यस दिन ओम मेगाश्री फर्मास्यूटिकल्सको शेयरमूल्य ५७ रुपैयाँ ८० पैसाले वृद्धि भई ६३६ रुपैयाँ २० पैसामा कारोबार बन्द भयो। यस्तै, उपकार लघुवित्तको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले उकालो लाग्दा बाराही हाइड्रोपावरको सेयर झण्डै ९ प्रतिशतले बढ्यो। अर्कोतर्फ, कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य ८.६५ प्रतिशतले घट्दै दिनको सबैभन्दा बढी गिरावट देखाउने कम्पनी बन्यो।
कारोबार रकमका आधारमा सोल्टी होटल अग्रपंक्तिमा रह्यो, जसको ४६ करोड १९ लाख रुपैयाँबराबरको सेयर कारोबार भयो। त्यसपछि राधी विद्युत कम्पनीको ४४ करोड रुपैयाँभन्दा बढी र युनिभर्सल पावर कम्पनीको करिब ३३ करोड ५० लाख रुपैयाँबराबरको सेयर कारोबार भयो।
बिहीबार १३ वटा उपसमूहमध्ये ३ उपसमूहको परिसूचकमा वृद्धि भएको छ भने बाँकी १० उपसमूहमा गिरावट आएको छ। होटल तथा पर्यटन उपसमूहमा ४.९१ प्रतिशतले बढोत्तरी हुँदा विकास बैंक उपसमूहमा २.१२ प्रतिशतले गिरावट आयो। यस्तै, अन्य उपसमूहको परिसूचक पनि १ प्रतिशतभन्दा बढीले घटेको छ।