३ अर्बको आईपीओ निष्कासन गर्छौं–शेखर गोल्छा


काठमाडौं–नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा निजी क्षेत्रबाट प्रवद्र्धित पहिलो पूनर्बीमा कम्पनी हिमालयन रि इन्स्योरेन्सका अध्यक्ष शेखर गोल्छाले रि इन्स्योरेन्सको तीन अर्ब रुपैयाँको आईपीओ निष्कासन गर्ने बताएका छन् । कम्पनीको शुक्रबार सम्पन्न प्रथम साधारण सभाले थप ३ अर्ब रुपैयाँ पूँजी जुटाउनको लागी सर्वसाधारणमा शेयर जारी गर्ने निर्णय गरेका अध्यक्ष गोल्छाले बताए । ‘तीन अर्बको आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गरेका छौं,’ गोल्छाले भने ।


हिमालयन रिको संस्थापकहरुले ७ अर्ब रुपैयाँ पूँजी लगानी गरिसकेका छन् । थप तीन अर्ब आईपीओ निष्कासन गरेर जुटाउने योजना छ । चुक्ता पूँजी १० अर्ब कायम गर्ने निर्णयसँगै साधारण शेयर जारी गर्ने निर्णय प्रस्ताव समेत पारित गरेको हो ।


प्रथम वार्षिक प्रतिवेदनका अनुसार कम्पनीले संचालनको छोटो अवधिमा झण्डै १ करोड रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको छ । प्रथम साधारण सभाबाट पारित आ.व. ७७÷७८ को वार्षिक प्रतिवेदन अनुसार हिमालयन रिले ९४ लाख २६ हजार रुपैयाँ खुद नाफा गरेको छ । २०७८ असार ३१ बाट मात्र औपचारिकरुपमा पूनर्बीमा सेवा शुरु गरेको कम्पनीले गत आ.व.मा लगानी, कर्जा तथा अन्य शीर्षकबाट कूल २ करोड ३७ लाख ६२ हजार रुपैयाँ आम्दानी गरेको छ ।


गत आर्थिक वर्षमा कम्पनीको व्यवस्थापन तथा अन्य खर्च शीर्षकमा १६ लाख ८७ हजार रुपैयाँ खर्च भएको छ । २१ अर्ब अधिकृत, १० अर्ब जारी र ७ अर्ब रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको बीमाकोषमा गत असार मसान्तसम्ममा ४८ लाख १९ हजार रुपैयाँ जम्मा भएको छ ।
 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय