वीरगन्जमा हैजा संक्रमित ११४ पुगे, विद्यालय थप तीन दिन बन्द

वीरगन्जमा हैजाको प्रकोप अझै नियन्त्रणमा आउन सकेको छैन। मंगलबार साँझसम्म थप २१ जनामा हैजा पुष्टि भएसँगै संक्रमितको संख्या ११४ पुगेको छ। सोमबारसम्म यो संख्या ९३ थियो।

संक्रमितहरू वीरगन्ज महानगरका विभिन्न वडामा रहेका छन् भने नारायणी, तराई, नेसनल मेडिकललगायत अस्पतालमा बिरामीको उपचार भइरहेको जिल्ला स्वास्थ्य संकट व्यवस्थापन समितिले जनाएको छ। हाल महानगरका विभिन्न अस्पतालमा १९९ जना बिरामी उपचाररत छन् र २२३ जना डिस्चार्ज भइसकेका छन्।

हैजा अब पर्साका अन्य पालिकामा पनि फैलिन थालेको छ। पोखरिया नगरपालिकास्थित अस्पतालमा भर्ना भएका चार जनामा संक्रमण देखिएको छ।

प्रकोप फैलिँदै गएपछि वीरगन्ज महानगरपालिकाले थप तीन दिनका लागि सबै विद्यालय बन्द गर्ने निर्णय गरेको छ। यसअघि आइतबार र सोमबार पनि विद्यालय बन्द गरिएको थियो। बन्द अवधिमा शिक्षक–कर्मचारीलाई जनचेतना फैलाउन परिचालन गरिने छ।

यस्तै, महानगरले होटल र मासु पसलहरूमा अनुगमन गर्दै सरसफाइ परीक्षण थालेको छ। दूषित पानी मुख्य कारण हुनसक्ने ठानिएकाले विभिन्न स्थानबाट पानीको नमुना संकलन गरी परीक्षण भइरहेको महानगरले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय