राष्ट्रपतिले संविधान दिवसमा कैदमिनाहा अस्वीकार

काठमाडौँ– संविधान दिवसको अवसरमा यस वर्ष कुनै पनि कैदीहरूको माफीमिनाहा नहुने भएको छ। गृह मन्त्रालयका स्रोतका अनुसार, कैदीहरूको माफीमिनाहाको अनौपचारिक सूची राष्ट्रपति कार्यालयमा पुगेको भए पनि, राष्ट्रपति रामचन्द्र पौडेलले उक्त सूचीलाई स्वीकार गर्न अस्वीकार गरेपछि निर्णय रोकिएको हो।

कारागार व्यवस्थापन विभागले असल आचरणका आधारमा कैदीहरूको नाम सूचीबद्ध गरी दुई चरणमा राष्ट्रपति कार्यालयमा प्रस्ताव गरेको थियो। तर, राष्ट्रपति कार्यालयले गृहमन्त्री र सम्बन्धित अधिकारीहरूसँगको छलफलपछि कानूनी समस्याका कारण सूचीलाई स्वीकृति दिन अस्वीकार गरेको बताइएको छ। यही कारण गृह मन्त्रालयले औपचारिक प्रस्ताव नै नपठाएको बुझिएको छ।

गत वर्ष कैदमिनाहासम्बन्धी निर्णयका कारण राष्ट्रपति पौडेल आलोचित बनेका थिए। उनले कांग्रेस नेता योगप्रसाद ढकाललाई हत्याको सजाय मिनाहा गरेपछि विवाद उत्पन्न भएको थियो, जसको कारण यसपटक राष्ट्रपति कार्यालय अझै सचेत देखिएको छ।

यस वर्षका लागि प्रस्तावित १ हजार ९३ जनाको नाममध्ये विवादास्पद व्यक्तिहरू समावेश रहेकोले राष्ट्रपति कार्यालयले सूचीलाई अस्वीकार गरेको सरकारी स्रोतले जानकारी दिएको छ। राष्ट्रपति कार्यालयका प्रेस सल्लाहकार किरण पोखरेलले माफी मिनाहाको औपचारिक प्रस्ताव हालसम्म नआएको स्पष्ट पारे।

प्रतिक्रिया