काठमाडौं– प्रधानमन्त्री शेर बहादुर देउवाले सत्तारुढ गठबन्धनको बैठकमा आफ्नो कुर्ची छाडेर गठन बन्धनका नेताकै हैसियतमा बसेका छन् । शनिबार साँझ प्रधानमन्त्रीको सरकारी निवासमा सत्तारुढ गठबन्धनका शीर्षस्थ नेताको बैठकमा देउवाले प्रधानमन्त्री बस्ने अग्रपंक्तिको कुर्चीमा नबसेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले वरिष्ठ नेता माधव नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी सरह फरक कुर्चीमा बसे ।
प्रधानमन्त्री बस्ने कुर्सी छोडेर देउवा चार नेता सरह सोफामा बसेका थिए । बायाँतिरको सोफामा प्रचण्ड, नेपाल र केसी बसेका छन् भने दायाँतिरको सोफामा प्रधानमन्त्री देउवा र यादव आसीन भएका थिए । गठबन्धनका शीर्ष नेताहरू सबै समान रहेको सन्देश दिन प्रधानमन्त्री देउवा सोफामा बसेको उनको सचिवालयले जनाएको छ । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै पार्टी (तत्कालीन नेकपा) का आफू समान नेताहरूको अस्तित्व स्वीकार गर्न नसक्दा उत्पन्न परिस्थितिबाट देउवाले पाठ सिकेको अनुमान गरिएको छ ।
ओलीले तत्कालीन नेकपामा प्रचण्ड र माधव नेपालले आफूहरूको अपमान हुने हर्कत देखाएको गुनासो गरेको सुनिन्थ्यो । नेकपामा ओलीले आफू बस्ने ठाउँबाट प्रचण्डको कुर्सी हटाइदिएको विषयले निकै चर्चा पाएको थियो ।
तत्कालीन नेकपाका अध्यक्ष प्रचण्डले सार्वजनिक रूपमै ओलीले आफ्नो अपमान गर्न सचिवालय सदस्य बस्ने कित्तातिर कुर्सी सारिदिएको बताएका थिए । माधव नेपालले एमाले हुँदै नेकपाबाट फेरि एमालेमा फर्किदा पनि ओलीले आफ्नो मान राख्न नसकेको गुनासो गरेको पाइन्छ । यो कुरालाई नजिकबाट नियालेका देउवाले प्रधानमन्त्री बस्ने कुर्सी छोडेर सम्मान भाव सन्देश दिन खोजेको देखिन्छ । संसदमा एक तिहाइ पनि सांसदको उपस्थिति नभएको अवस्थामा प्रचण्ड, माधव, उपेन्द्र र चित्रबहादुरको सहयोगमा देउवा प्रधानमन्त्री बनेका थिए ।
उनीहरूको साथ र सहयोग बिना सरकार टिक्ने अवस्था नभएकाले पनि देउवाले समानको व्यवहार देखाएको बुझ्न गाह्रो छैन । कसैको अपमान गरेर आनन्द दिने स्वभाव प्रधानमन्त्री देउवाका नरहेको उनको भनाइ छ ।