काठमाडौं । पूर्वराष्ट्रपति विद्या भण्डारीले एमालेको सक्रिय राजनीतिमा आफू पूर्णरूपमा फर्किएको स्पष्ट पार्दै अब पछि नहट्ने अडान व्यक्त गरेकी छन्। भंगालस्थित आफ्नै निवासमा पत्रकारहरूसँग कुरा गर्दै उनले नेतृत्व परिवर्तनका बहानामा महाधिवेशनबिनै कार्यकर्ताबीच फाटो ल्याउने प्रयास भइरहेको आरोप लगाइन्।
भण्डारीले जिल्लादेखि प्रदेशस्तरसम्म ग्रुपिजमको नाममा कार्यकर्तालाई दवाब दिने र अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने गतिविधि बढेको भन्दै आपत्ति जनाइन्। उनले कार्यकर्तालाई आतंकित पार्ने प्रवृत्तिमा तत्काल रोक लगाउन आग्रह गरिन्।
पूर्वराष्ट्रपतिले आफैंले कठिन परिस्थितिमा पार्टी, महिला आन्दोलन र राष्ट्रको नेतृत्व गरेको स्मरण गराउँदै आफूविरुद्ध अनावश्यक विवाद सिर्जना गर्न खोजिएको बताइन्।
"राजनीतिक दल अनैतिक अखडा हो त?" भन्ने प्रश्न गर्दै उनले भने, "यदि उच्च नैतिकताका व्यक्ति दलमा आउँछन् भने दल पनि नैतिक बन्न सक्छ। तर अहिले कार्यकर्तालाई बोल्न नदिने, बोलेको आधारमा कारवाही गर्ने जस्ता प्रवृत्ति ठीक होइन।"
भण्डारीले आफ्नो पार्टी सदस्यता नवीकरण भइसकेको जानकारी दिँदै अध्यक्ष केपी शर्मा ओलीसँग यसबारे छलफल भइसकेको बताइन्। उनले नयाँ वर्षको सन्देशपछि ओली चिढिएको आशयसमेत व्यक्त गरिन्।