देवानगञ्जको अवस्था सामान्य बन्दै, राजमार्ग क्षेत्रको कर्फ्यु हटाइयो

काठमाडौं । सुनसरीको देवानगञ्ज क्षेत्रको अवस्था क्रमशः सामान्य बन्दै गएको छ। आइतबार राति देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको झडप र त्यसपछिको तनावलाई ध्यानमा राख्दै स्थानीय प्रशासनले जारी गरेको कर्फ्यु तथा निषेधाज्ञामध्ये राजमार्ग क्षेत्रको कर्फ्यु हटाइएको छ।

जिल्ला प्रशासन कार्यालय सुनसरीका अनुसार देवानगञ्ज गाउँपालिका र हरिनगर गाउँपालिकाभर आज बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म पाँच जनाभन्दा बढी व्यक्ति एकै स्थानमा भेला हुन नपाउने गरी निषेधाज्ञा भने यथावत् राखिएको छ।

यस्तै हरिनगरा बजार, भुटाहा बजार, कप्तानगञ्ज बजार, घुस्की बजार र देवानगञ्ज बजार क्षेत्रमा भने अर्को सूचना जारी नभएसम्म कर्फ्यु आदेश कायम रहने प्रशासनले जनाएको छ।

प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले मंगलबार बिहानदेखि शान्ति–सुरक्षाको अवस्था क्रमशः सामान्य बन्दै गएको र परिस्थितिको मूल्याङ्कनका आधारमा थप निर्णय गरिने बताए। उनले हरिनगरा, देवानगञ्ज, कप्तानगञ्ज, इनरुवा तथा आसपासका संवेदनशील क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र अन्य सुरक्षा निकाय परिचालन गरिएको जानकारी दिए।

प्रशासनले नागरिकलाई अफवाहमा विश्वास नगर्न, सामाजिक सद्भाव कायम राख्न तथा जारी निषेधाज्ञा र कर्फ्यु आदेशको पूर्ण पालना गर्न आग्रह गरेको छ।

देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा आइतबार राति दुई समूहबीच भएको झडप नियन्त्रणका क्रममा प्रहरीले चलाएको गोली लागेर ३० वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो। उक्त घटनापछि क्षेत्र तनावग्रस्त बनेको थियो।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय