काठमाडौं– कुमारी बैंकले आफ्ना प्रमुख कार्यकारी अधिकृतलाई गत बर्ष २ करोड ३८ लाख ३१ हजार रुपैयाँ तलब सुविधा दिएको छ। बैंकले तलब बापत एक करोड २० लाख ३७ हजार रुपैयाँ र भत्ता बापत ४७ लाख ७० हजार रुपैयाँ भुक्तानी गरेको छ। गत आर्थिक बर्ष बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्र भण्डारी थिए। उनी गत साउनबाट अवकाश भएका हुन्। भण्डारीले बैंकबाट दसैं भत्ता बापत १४ लाख ६६ हजार र बिदाबापत १० लाख रुपैयाँ लिएका थिए ।
अघिल्लो बर्ष पनि उनले २ करोड ३८ लाख ३१ हजार रुपैयाँ तलब, भत्ता बुझेका थिए। तीन बर्षअघि भने उनको तलब सुविधा २ करोड १४ लाख रुपैयाँ थियो। पछिल्लो बर्ष भने उनको तलब सुविधा बढेन । बैंकले उपलब्ध गराएको बार्षिक प्रतिवेदन अनुसार, उच्च तहका ब्यवस्थापकले गत बर्ष १० करोड ४४ लाख रुपैयाँ तलब सुविधा बुझेका छन्। बैंकको कुल ब्यवस्थापन खर्च भने दुई अर्ब २ करोड ३९ लाख रुपैयाँ पुगेको छ। अन्य सञ्चालन खर्च एक अर्ब १६ करोड ७४ लाख रुपैयाँ छ ।
बैंकको ब्यवस्थापकीय नेतृत्व कामु प्रमुख कार्यकारीका हैसियतमा अनुजमणि तिमिल्सिनाले हेरिरहेका छन् । बैंकले कात्तिक १६ गते बार्षिक साधारणसभा गर्दैछ। सभामा गत बर्षको नाफाबाट चुक्ता पुँजीको ६ प्रतिशत बोनस सेयर र २.६७ प्रतिशत नगद लाभांश दिने प्रस्ताव लगिँदैछ। बैंकले गत बर्ष नाफा ७० प्रतिशतले बढाएर एक अर्ब ९७ करोड रुपैयाँ गरेको थियो ।