इन्डोनेसियामा ७.७ म्याग्निच्युडको भूकम्प

काठमाडौं । इन्डोनेसियाको पूर्वी क्षेत्रमा पर्ने फ्लोरेस टापुमा बिहानै ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। भूकम्पपछि सुनामीको चेतावनी जारी गरिएपछि तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानतर्फ सारिएको थियो।

इन्डोनेसियाको मौसम विज्ञान, जलवायु तथा भूभौतिकी एजेन्सी (बीएमकेजी)का अनुसार स्थानीय समयअनुसार बिहान ४ः५८ बजे भूकम्प गएको हो। भूकम्पको केन्द्रबिन्दु पूर्वी नुसा तेङ्गारा प्रान्तको नागेकेओबाट करिब ३० किलोमिटर उत्तरपूर्व समुद्रमा रहेको थियो। भूकम्प १५ किलोमिटर गहिराइमा गएको बताइएको छ।

फ्लोरेस आसपासको समुद्री क्षेत्रमा गएको भूकम्पपछि बीएमकेजीले पूर्वी नुसा तेङ्गारा, दक्षिण सुलावेसी र पश्चिम नुसा तेङ्गारा प्रान्तका तटीय क्षेत्रमा सुनामीको चेतावनी जारी गरेको थियो। प्रारम्भिक अनुमानमा सम्भावित सुनामीका छाल ०.५ मिटरदेखि ३ मिटरसम्म उचाइका हुन सक्ने जनाइएको थियो।

भूकम्पपछि नागेकेओसहित आसपासका क्षेत्रमा ठूलो त्रास फैलिएको थियो। सयौँ मानिस सुरक्षित स्थानतर्फ भागेका थिए। स्थानीय सञ्चारमाध्यमका अनुसार केही क्षेत्रमा घर तथा भवनमा क्षति पुगेको छ भने भूकम्पपछि परकम्पसमेत महसुस गरिएको थियो।

पछिल्लो विवरणअनुसार भूकम्पमा परी कम्तीमा दुई जनाको मृत्यु भएको छ भने केही मानिस घाइते भएका छन्। विभिन्न स्थानमा भौतिक संरचनामा समेत क्षति पुगेको बताइएको छ।

समुद्रको सतहमा ठूलो परिवर्तन नदेखिएपछि प्रारम्भमा जारी गरिएको सुनामी चेतावनी पछि हटाइएको छ। यद्यपि भूकम्प प्रभावित क्षेत्रमा स्थानीय प्रशासनले सतर्कता अपनाउन आग्रह गरेको छ।

फ्लोरेस क्षेत्र भूकम्पीय दृष्टिले निकै संवेदनशील मानिन्छ। सन् १९९२ मा यही क्षेत्रमा ७.७ म्याग्निच्युडको भूकम्प गएपछि आएको सुनामीले ठूलो जनधनको क्षति गरेको थियो।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय