बुधबार नेप्से २९ सय माथि पुग्ने सम्भावना

काठमाडौं - यो हप्ता शेयर बजार निरन्तर उकालो लागिरहेको छ । मंगलबार १९ अंकले बढेर समग्र बजार २८३४ बिन्दुमा पुगेको छ भने बिहीबार २९०० माथि पुग्ने धेरैको अनुमान छ । 

अहिले भने शेयर बजारमा फेरि रौनकता थपिएको छ । अघिल्लो हप्ता केवल १ दिन मात्र घटेको बजार यो हप्ताको पहिलो दिन आइतबार, सोमबार र मंगलबार राम्रो अंकले बढेको छ भने कारोबार रमक पनि केही महिना यताकै राम्रो ७ अर्ब माथि पुगेको छ । अहिलेको बजार देखेर युवाहरुमा फेरि उत्साह छाएको छ । 

धेरै जानकारहरुले शेयर बजार माघ महिना भित्रै ३५ सय आसपास पुग्ने अनुमान गरेका छन् भने त्यसको संकेत समेत बजारले देखाएको दाबी गर्छन् । 

पछिल्लो समय शेयर बजारमा उत्साह आउनुको पछाडि केही कारणहरू छन् - 

१.नेपालको अर्थतन्त्र तरलता अभावको चपेटामा परेको छ । बैंकहरुले ऋण दिन नसक्ने अवस्थामा थिए तर पुस लागेसँगै यो समस्या बिस्तारै समाधान हुन लागेको छ । सिडी रेसियो ९० प्रतिशत भन्दा तल आएको छ भने लगानी योग्य रकम बढेको छ । यसको प्रत्यक्ष असर बजारमा देखिएको छ । 

२.शेयर बजारमा रौनक आउने अर्को कारण हो कोरोना को नयाँ भेरियन्ट । आईतबार सिसिएमसीले गरेको निर्णय अनुसार नेपालमा स्मार्ट लक डाउन सम्मको परिकल्पना गरेको छ । विगतमा कोरोना संक्रमणको समयमा लक डाउन हुँदा शेयर बजारमा उछाल आएको हुँदा यो पटक पनि अन्य क्षेत्र ठप्प हुँदा सबै पैसा र ध्यान शेयर बजारमै आउने आस धेरै लगानीकर्तालाई छ सोही कारणले पनि शेयर बजारमा उत्साह फर्किएको छ । 

३. देशमा स्थानिय तहको चुनाव पनि आएको छ । चुनावमा प्राय शेयर बजार हरियो हुने विगतको रेकर्ड छ । आउँदै गरेको स्थानीय निकायको चुनावले पनि बजारलाई रौनक सिर्जना गर्न केही भूमिका खलेको धेरैको बुझाई छ । 

प्रतिक्रिया