प्रतिनिधिसभा निर्वाचन अन्तर्गत बिहीबार देशभर मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ। बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म सञ्चालन गरिएको मतदान अधिकांश स्थानमा शान्तिपूर्ण रूपमा सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ।
आयोगका अनुसार दोलखाको तामाकोशी गाउँपालिका–४ स्थित मालु मतदान केन्द्र बाहेक देशका अन्य सबै मतदान केन्द्रमा मतदान सम्पन्न भएको हो। सो केन्द्रमा भएको घटनाका कारण मतदान प्रभावित भएको बताइएको छ।
यस्तै, ओखलढुंगाको मानेभन्ज्याङमा स्थानीय बासिन्दाले मतदान बहिष्कार गरेका छन्। त्यसैगरी दाङको बबई गाउँपालिका–७ मलईस्थित देउती मावि (तल्लो मलई) र वडा नम्बर १ मा रहेको जनता मावि मतदान केन्द्रमा पनि मतदाताहरूले आफ्ना माग पूरा नभएको भन्दै मतदान बहिष्कार गरेका छन्।