काठमाडौं । प्रतिनिधिसभाले आर्थिक विधेयक, २०८३ बहुमतले पारित गरेको छ। आइतबार बसेको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रस्तुत गरेको आर्थिक विधेयक बहुमतबाट स्वीकृत भएको हो।
विधेयकमाथि प्राप्त संशोधन प्रस्तावहरूबारे भएको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले आगामी आर्थिक वर्षमा बजेट कार्यान्वयनलाई उच्च प्राथमिकतामा राखिने बताएका छन्। विगतमा देखिएको न्यून पूँजीगत खर्चको समस्या अन्त्य गर्ने गरी सरकारले काम गर्ने उनको भनाइ थियो।
उनले सरकारले प्रस्ताव गरेको कर प्रणालीले न्यून आय भएका नागरिकलाई कुनै अतिरिक्त भार नपार्ने स्पष्ट पारे। अर्थतन्त्रलाई चलायमान बनाउन तथा आर्थिक गतिविधि विस्तार गर्न सरकारले महत्वाकांक्षी बजेट ल्याएको उल्लेख गर्दै त्यसको सकारात्मक प्रभाव आगामी वर्षदेखि देखिन सुरु हुने विश्वास व्यक्त गरे।
अर्थमन्त्री वाग्लेले मूल्य अभिवृद्धि कर (भ्याट) को बहुदर प्रणालीबारे अध्ययन गर्न उच्चस्तरीय समिति गठन गरिने जानकारी दिए। उक्त समितिको सिफारिसका आधारमा आवश्यक नीतिगत निर्णय लिइने उनले बताए।
बजेट कार्यान्वयनका लागि आवश्यक स्रोत मुख्यतः आन्तरिक राजस्वबाट व्यवस्थापन गरिने उल्लेख गर्दै उनले राजस्व संकलनमा असहज अवस्था सिर्जना भए वैकल्पिक तथा आपतकालीन व्यवस्था अपनाउन सकिने बताए।
यस्तै, राइड सेयरिङ सेवा सञ्चालनबाट अर्बौं रुपैयाँको कारोबार भइरहेको भन्दै सरकारले यस क्षेत्रलाई पनि करको दायरामा ल्याउने गरी आवश्यक नीति तर्जुमा गरिरहेको जानकारी उनले दिए।
आर्थिक विधेयकमाथि दर्ता भएका केही संशोधन प्रस्ताव प्रस्तावकर्ताले फिर्ता लिएका छन् भने अधिकांश संशोधन अस्वीकृत भएका छन्। केही संशोधन प्रस्ताव भने स्वीकार गरिएको छ।