काठमाडौँ: सार्वजनिक बिदाको दिनमा पनि अस्पतालहरूमा बहिरङ्ग सेवासहित सम्पूर्ण सेवा सञ्चालन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको छ।
कार्यालयका सहसचिव हीरामणि शर्माले केही दिनअघि मन्त्रालयलाई पत्र लेख्दै, सार्वजनिक बिदाका दिनमा पनि अस्पतालहरूले नियमित सेवा प्रवाह गर्नुपर्ने निर्देशन दिएका हुन्। गृह मन्त्रालयले सार्वजनिक बिदासम्बन्धी जारी गरेको सूचनामा आधारित यस निर्देशनमा सबै प्रकारका स्वास्थ्य सेवा (बहिरङ्ग सेवासहित) सार्वजनिक बिदाका दिनमा पनि सञ्चालन गर्नुपर्ने उल्लेख गरिएको छ।
सार्वजनिक बिदाको दिनमा स्वास्थ्य सेवा प्रवाह नहुनुको कारणले जनगुनासो बढेको भन्दै, सरकारले सबै अस्पतालहरूलाई सेवा निरन्तरता दिन आग्रह गरेको छ। साथै, मन्त्रिपरिषद् कार्यालयले गृह मन्त्रालयलाई यसका लागि आवश्यक समन्वय र अनुगमन गर्न पनि अनुरोध गरेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले, मन्त्रालयले यो निर्देशनलाई कार्यान्वयन गर्ने तयारी गरिरहेको बताएका छन्। उनले भने, "हामी सबै अस्पतालहरूलाई पत्राचार गरेर सार्वजनिक बिदाको दिनमा पनि सेवा सञ्चालन गर्ने निर्णय गर्ने तयारीमा छौं।"