काठमाडौं । जल तथा मौसम विज्ञान विभागले मनसुन सक्रिय रहेकाले देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ भने मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ नेपालको तराई भू–भाग नजिक अवस्थित छ। यसको प्रभावका कारण देशभर अधिकांश स्थानमा बादल लागेको छ। हाल कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थान तथा मधेस र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको विभागले जनाएको छ।
आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा अधिकांश स्थानमा बदली रहने तथा कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने पूर्वानुमान गरिएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका धेरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रमा केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा तथा हिमपात हुन सक्नेछ।
त्यस्तै कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भू–भागका धेरै स्थान, मधेस प्रदेश तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थान तथा मधेससहित कोशी, बागमती र गण्डकीका तराई क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने विभागले जनाएको छ।
आज राति पनि कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा अधिकांश स्थानमा बदली रहनेछ। कोशी र बागमती प्रदेशका हिमाली भू–भागका धेरै स्थान तथा गण्डकीसहित लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रमा केही स्थानमा वर्षा तथा हिमपातको सम्भावना छ।
रातिको समयमा मधेस प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भू–भागका धेरै स्थानमा, लुम्बिनीका केही स्थान तथा कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुने पूर्वानुमान गरिएको छ। कोशी र बागमती प्रदेशका पहाडी तथा तराई भू–भाग र मधेस प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेको छ भने गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा पनि भारी वर्षा हुन सक्नेछ। साथै कोशी र बागमती प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा अति भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।
विभागले भारी तथा अति भारी वर्षाका कारण गेग्रान बहाव, बाढी, पहिरो र भू–क्षयको जोखिम बढ्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ। यसका साथै कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण तथा सडक र हवाई यातायातसमेत प्रभावित हुन सक्ने भएकाले आवश्यक सावधानी अपनाउन विभागले अनुरोध गरेको छ।