राजनीतिक अस्थिरता र जेनजी आन्दोलनपछि नेपाल आर्थिक संकटतर्फ

काठमाडौं । विश्व बैंकले नेपाल सन् २०२६ सम्म ऋणात्मक आर्थिक वृद्धिदरमा पुग्ने सम्भावना रहेको चेतावनी दिएको छ। बैंकले हालै सार्वजनिक गरेको साउथ एसिया डेभलपमेन्ट अपडेट प्रतिवेदन अनुसार नेपालको आर्थिक वृद्धिदर २.१ प्रतिशतमा खुम्चिने अनुमान गरिएको छ।

प्रतिवेदनमा भनिएको छ कि हालको राजनीतिक अस्थिरता, जेनजी आन्दोलनपछिको आर्थिक क्षति, लगानी वातावरणमा आएको गिरावट र पर्यटन क्षेत्रको कमजोर पुनरुत्थानका कारण नेपालको अर्थतन्त्र गम्भीर दबाबमा परेको छ। विश्व बैंकले चेतावनी दिंदै भनेको छ— “यदि आर्थिक तथा राजनीतिक परिस्थिति यथावत् रह्यो भने वृद्धिदर ऋणात्मक हुँदै १.५ देखि २.६ प्रतिशतसम्म झर्न सक्छ।”

बैंकका अनुसार जेनजी आन्दोलनका क्रममा भएको सम्पत्तिको नोक्सानीले बीमा उद्योगमा ठूलो असर पारेको छ भने लगानीकर्ताको मनोबल घटेको छ। यसले आन्तरिक र विदेशी दुवै लगानी प्रभावित गरेको देखिएको छ।

त्यस्तै, प्रतिकूल मौसमका कारण धान उत्पादन घट्ने सम्भावनाले पनि आर्थिक वृद्धिदरमा थप नकारात्मक प्रभाव पार्ने आँकलन गरिएको छ। अन्तर्राष्ट्रिय पर्यटकहरूको संख्यामा आएको तीव्र कमीले सेवा क्षेत्र कमजोर बनेको र राजस्व संकलनमा पनि कमी आएको प्रतिवेदनमा उल्लेख छ।

विश्व बैंकले नेपाललाई राजनीतिक स्थायित्व, लगानीमैत्री नीति र कृषिमा प्रविधिको प्रयोग बढाउन सुझाव दिएको छ, जसले अर्थतन्त्रलाई पुनः स्थायित्वतर्फ डोर्याउन मद्दत गर्न सक्छ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय