विदेशी पैसाको दुरुपयोग शंका, एनजीओ–आईएनजीओमाथि छानबिन सुरु

जाँचबुझ आयोगले गैरसरकारी संस्था (एनजीओ) र अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ) ले विगत एक वर्षमा विदेशबाट ल्याएको सहयोग रकमको विवरण माग गरेको छ।

भदौ २३ र २४ गते भएको जेन जी आन्दोलनका क्रममा भएका आगजनी र तोडफोड घटनाको छानबिनका क्रममा आयोगले यस्तो माग गरेको हो।

आयोगका अध्यक्ष गौरीबहादुर कार्कीका अनुसार आयोगमा उजुरी परेपछि यी संस्थाहरूले पाएको अनुदान र त्यसको खर्चबारे जानकारी मागिएको हो। उनका अनुसार केही उजुरीमा विदेशी सहयोगको दुरुपयोग र राजनीतिक गतिविधिमा लगानी गरिएको दाबी गरिएको छ।

समाज कल्याण परिषद्का सदस्यसचिव मनोज भट्टले आयोगले मागेका विवरण संकलनको काम सुरु भइसकेको बताए। उनका अनुसार परिषद्मा सूचीकृत ५८ हजार एनजीओमध्ये करिब ७०० वटाले मात्रै विदेशी सहयोग ल्याउँछन् भने आईएनजीओको संख्या १३० जति छ। यी संस्थाहरूले वार्षिक दुईदेखि तीन अर्ब अमेरिकी डलर बराबरको सहयोग नेपालमा ल्याउँछन्।

परिषद्का नियमअनुसार, आईएनजीओहरूले ल्याएको रकमको २० प्रतिशत प्रशासनिक खर्च र बाँकी ८० प्रतिशत परियोजनामा खर्च गर्नुपर्ने हुन्छ। तर कतिपय संस्थाहरू समाज कल्याण परिषद्मा दर्ता नगरी कार्यरत रहेकाले उनीहरूको वित्तीय कारोबार पारदर्शी छैन भन्ने आशंका गरिएको छ।

अध्यक्ष कार्कीले आयोगले मागेका विवरणले विदेशी सहयोगको प्रयोग कसरी भएको हो र त्यसले शासन व्यवस्थामा कस्तो असर पारेको हो भन्ने विषय स्पष्ट हुने बताए। उनका अनुसार, परिषद्‌ले आवश्यक परे यस्ता संस्थाहरूका बैंक कारोबार पनि जाँच गर्न सक्छ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय