काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीसहित तीन प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूबीच संघीय लोकतान्त्रिक गणतन्त्र र समावेशी संविधानको संरक्षणका लागि आवश्यक वातावरण तयार पार्दै अघि बढ्ने विषयमा आज बालुवाटारमा छलफल भएको छ।
संविधानको उल्लंघन गर्ने र सामाजिक अराजकता सिर्जना गरी मुलुकको शान्ति र स्थायित्वमा असर पुर्याउने तत्वहरूप्रति सचेत रहँदै गणतन्त्र पक्षधर शक्ति एकजुट हुनु पर्नेमा नेताहरूबीच साझा धारणा बनेको छ।
छलफलमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', गृहमन्त्री रमेश लेखक र प्रधानमन्त्रीका सल्लाहकार अग्नि खरेलको उपस्थिति थियो। सल्लाहकार खरेलका अनुसार, छलफलका क्रममा संक्रमणकालीन न्यायसँग सम्बन्धित दुई आयोगमा पदाधिकारी चयन गर्न गठित सिफारिस समितिको प्रगतिको विषयमा पनि सामान्य जानकारी प्रस्तुत गरिएको थियो।