पराजयको नैतिक जिम्मेवारी लिँदै गगन थापाको राजिनामा

 

काठमाडौँ — निर्वाचनमा अप्रत्याशित पराजयपछि नेपाली कांग्रेसका सभापति गगन थापा ले नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा दिएका छन्। केन्द्रीय कार्यसमिति बैठकको मिति तय भएसँगै उनले उपसभापति विश्वप्रकाश शर्मा लाई राजीनामा बुझाएका हुन्। यद्यपि, पार्टीले उक्त राजीनामाबारे औपचारिक रूपमा सार्वजनिक गरेको छैन।

पार्टीका एक पदाधिकारीका अनुसार ६ चैतमा बस्ने केन्द्रीय कार्यसमिति बैठकमा सभापतिको राजीनामाबारे छलफल हुनेछ। ‘राजीनामा दिने अधिकार सभापतिको हो र उहाँले दिनुभएको छ, तर स्वीकृत गर्ने वा नगर्ने निर्णय केन्द्रीय कार्यसमितिको अधिकार हो,’ ती पदाधिकारीले बताए।

यसअघि २७ देखि ३० पुससम्म काठमाडौँको भृकुटीमण्डप मा सम्पन्न कांग्रेस विशेष महाधिवेशनले थापाको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति चयन गरेको थियो। तर, उक्त महाधिवेशनको वैधानिकतामाथि प्रश्न उठाउँदै तत्कालीन सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्का ले दायर गरेको रिट हाल सर्वोच्च अदालतमा विचाराधीन छ।

यद्यपि महाधिवेशनको आयोजनामाथि असहमति जनाउने नेताहरूले समेत नवनिर्वाचित सभापति थापाकै हस्ताक्षरमा निर्वाचनमा प्रतिस्पर्धा गरेका थिए। देउवा पक्षको असहमतिका बीच तत्कालीन महामन्त्रीका रूपमा रहेका थापा र शर्माले ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरका आधारमा विशेष महाधिवेशन आह्वान गरेका थिए।

पार्टी विधानअनुसार ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षरसहित माग गरेमा तीन महिनाभित्र विशेष महाधिवेशन बोलाउनुपर्ने बाध्यात्मक व्यवस्था रहेको छ। Today Kantipur Daily

प्रतिक्रिया