सहकारी पीडितको पीडा: बचत रकम फिर्ता नपाउँदा ७२ वर्षीय राजेन्द्र स्थापितको मृत्यु

काठमाडाैं - काठमाडौंको शंखमूलका ७२ वर्षीय राजेन्द्र स्थापितको मृत्यु सहकारी पीडितका लागि तीतो यथार्थ बनेको छ। ब्रेन ह्यामरेजका कारण गम्भीर अवस्थामा रहेका स्थापितको उपचारका लागि आवश्यक पाँच लाख रुपैयाँ नपाउँदा उनको मृत्यु भएको हो।

स्थापितले युवा विकास बहुउद्देश्यीय सहकारी संस्थामा एक करोड ३६ लाख रुपैयाँ बचत गरेका थिए। तर, १६ महिनादेखि आफ्नो रकम फिर्ता पाउन नसकेपछि उनले आन्दोलनमा पनि सहभागिता जनाउँदै आएका थिए। सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघका अध्यक्ष कुशलव केसीका अनुसार, सहकारीका अध्यक्षले पैसा फिर्ता दिने वचन दिए पनि समयमा रकम उपलब्ध नगराउँदा स्थापितको उपचार हुन नसकेर चार दिनपछि उनको मृत्यु भएको हो।

राजेन्द्र स्थापितको निधनले सहकारी पीडितहरूको पीडा थप गहिरिएको छ। उनको पत्नी दाद्रीबाबा बज्राचार्य अहिले अत्यन्तै भावविह्वल अवस्थामा छन्, र उनले मृतकका काजकिरिया शान्त वाटिकामै बस्ने इच्छा व्यक्त गरेकी छिन्। महासंघले दम्पतीको अब कोही सहारा नरहेकोले, सरकारले मृतककी पत्नीको संरक्षणका लागि तत्काल पहल गर्नुपर्ने माग गरेको छ।

सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघले आइतबार रकम अभावका कारण मृत्यु भएको विरोधमा नक्कली शव बोकेर प्रदर्शन गरेको छ। महासंघले पीडितहरूको माग सम्बोधन गर्न सरकारलाई दबाब दिन तेस्रो चरणको आन्दोलन अन्तर्गत रिले अनशनमा सहभागी भइरहेको जनाएको छ। तर, उच्चस्तरीय संसदीय समितिले समस्याको समाधानमा कुनै ठोस कदम नचालेको अध्यक्ष केसीको आरोप छ। सहकारीको समस्याका कारण पीडितहरू आत्महत्याको समेत चपेटामा परेको कुरा उनले बताए। आजको नागरिक दैनिकबाट

प्रतिक्रिया