साताको अन्तिम कारोबारमा पनि नेप्से दोहोरो अंकले घट्यो

काठमाडौँ । साताको अन्तिम कारोबार दिन बिहीबार पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटेको छ। अघिल्लो दिन १३.४६ अंकले घटेको बजार आज थप ११.३७ अंकले ओरालो लाग्दै २ हजार ७५५.४१ बिन्दुमा झरेको हो।

बजारसँगै कारोबार रकममा पनि कमी आएको छ। आज ३५१ कम्पनीको १ करोड २७ लाख ३२ हजार ८६८ कित्ता शेयर खरिदबिक्री हुँदा कुल ५ अर्ब ६२ करोड ५६ लाख ११ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। अघिल्लो दिन ३५३ कम्पनीको १ करोड ६ लाख कित्ता शेयर ४ अर्ब ७० करोड रुपैयाँमा किनबेच भएको थियो।

कारोबारमा सहभागी कम्पनीहरूमध्ये ४७ कम्पनीको शेयर मूल्य बढेको छ भने १८४ कम्पनीको शेयर मूल्य घटेको छ। यस्तै ११ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ।

समग्र बजार घटेको दिन पनि केही उपसमूहमा भने हरियाली देखिएको छ। फाइनान्स समूहको उपसूचक सबैभन्दा बढी २.७७ प्रतिशतले बढेको छ। त्यसैगरी म्युचुअल फन्ड २.२७ प्रतिशत, निर्जीवन बीमा ०.०६ प्रतिशत तथा होटल तथा पर्यटन समूह ०.०५ प्रतिशतले उकालो लागेको छ। बाँकी सबै समूहका उपसूचक भने घटेका छन्।

आजको कारोबारमा कालिञ्चोक हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले सर्वाधिक लाभ कमाएका छन्। कम्पनीको शेयर मूल्य १५ प्रतिशतले वृद्धि भएको छ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय