काठमाडौं - नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट २१ दिनका लागि थप ४० अर्ब रुपैयाँ तरलता खिच्ने घोषणा गरेको छ। कर्जा लगानीको तुलनामा निक्षेप संकलन उच्च भएकाले बैंकले यो कदम चालेको हो। हाल बैंकिङ प्रणालीमा करिब ७ खर्ब १५ अर्ब रुपैयाँभन्दा बढी लगानीयोग्य रकम रहेको छ। ब्याजदर घट्दो क्रममा रहे पनि कर्जाको माग अपेक्षाअनुसार बढ्न नसकेको कारण यो कदम चालिएको हो।
तर, चालु आर्थिक वर्षको पुस महिनामा कर्जा प्रवाहमा ५२ अर्ब रुपैयाँको वृद्धि भएको छ। अर्थतन्त्रले चलायमान हुने संकेत देखाउँदै उद्योगी व्यवसायीहरूले चालु पुँजी कर्जा र दीर्घकालीन ऋण लिन रुचि देखाएका छन्। पुसपछि सरकारी निर्माण कार्यले गति लिने अपेक्षासँगै आर्थिक गतिविधि थप सक्रिय हुने विश्लेषण गरिएको छ।
यसैबीच, रेमिट्यान्सको वृद्धिदर घट्नु र आयातमा वृद्धि देखिनुले विदेशी मुद्रा सञ्चिति पर्याप्तता अनुपातमा कमी आएको छ। तर, आर्थिक गतिविधिमा सुधारको संकेत देखिएको राष्ट्र बैंकका अधिकारीहरूले बताएका छन्। ब्याजदर न्यूनतम बिन्दुमा रहेकाले र लगानीका लागि पर्याप्त स्रोत उपलब्ध भएकाले यसको सदुपयोगमा जोड दिन उनीहरूले सुझाव दिएका छन्। यस अवसरको प्रभावकारी उपयोगले अर्थतन्त्रलाई थप सुदृढ बनाउन मद्दत गर्ने विश्वास गरिएको छ।