बिजुली बक्यौता – दोस्रो किस्ता तिर्न आएनन् २९ उद्योगी

काठमाडौँ । लोडसेडिङका समयमा प्रयोग गरिएको विद्युत् प्रिमियम (अतिरिक्त शुल्क) बक्यौताको दोस्रो किस्ता तिर्न २९ उद्योगी अघि नआएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ। उद्योगीहरूले मंसिरमा दोस्रो र पुसमा तेस्रो किस्ता तिर्नुपर्ने व्यवस्था भए पनि पाँच वटा उद्योगले मात्र किस्ता बुझाएका छन्।

दोस्रो किस्ता तिर्नेमा अशोक स्टिल, हुलास स्टिल, हामा आइरन, पञ्चकन्या प्लास्टिक र पञ्चकन्या स्टिल रहेका छन्। यीमध्ये केही उद्योगले गत कात्तिकमा लाइन काटिनुअघि नै किस्ता तिर्ने सहमति जनाएका थिए।

गत कात्तिक ४ र ८ गतेसम्म बक्यौता नतिर्ने २५ उद्योगको लाइन काटिएको थियो। त्यसपछि प्रधानमन्त्री कार्यालय, ऊर्जा मन्त्रालय र उद्योगीबीचको सहमति अनुसार उद्योगहरूले पहिलो किस्ता धरौटीका रूपमा बुझाएका थिए। यससँगै पुनरावलोकन प्रक्रिया अघि बढ्ने सहमति भए पनि प्राधिकरणले प्रक्रिया नखोलेपछि उद्योगहरूले बाँकी किस्ता तिर्न आनाकानी गरेका हुन्।

नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष रघुनन्दन मारूका अनुसार उद्योगीहरूले बुझाएको पहिलो किस्ता नै धरौटीका रूपमा मानिने सहमति भएकाले अहिले पुनरावलोकनको प्रतीक्षा गरिएको छ। पुनरावलोकनपछि आउने निर्णयअनुसार भुक्तानी गरिने उनले बताए।

यसबीचमा अदालतबाट केही उद्योगले अन्तरिम आदेश पाएका छन्। हालसम्म ४६ उद्योगमा बक्यौता बाँकी रहेको प्राधिकरणले जनाएको छ। तीमध्ये केही सरकारी र केही बन्द उद्योग पनि रहेका छन्।

प्राधिकरणका प्रवक्ता राजन ढकालका अनुसार उद्योगीहरूलाई नियमित रूपमा किस्ता बुझाउन ताकेता भइरहेको छ। तर कानुनी प्रक्रिया, अदालतका आदेश तथा पुनरावलोकनसम्बन्धी पत्राचारका कारण केही द्विविधा देखिएको र निकासका लागि छलफल जारी रहेको उनले बताए।

प्रधानमन्त्री कार्यालयबाट पुनरावलोकन प्रक्रिया खोल्न निर्देशन आएपछि प्राधिकरण यसबारे कानुनी आधारसहित निर्णय गर्न तयारी अवस्थामा रहेको प्राधिकरण स्रोतले जनाएको छ। Naya Patrika Daily 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय