काठमाडौ - हिमालयन बैंकका लगानीकर्ताले अब भने नाफा पाउने पक्का भएको छ । बैंकको विवादमा अदालतको फैसलासँगै बाटो खुलेको हो ।
उच्च अदालत पाटनले नेपाल राष्ट्र बैंकले लाभांश वितरणमा लगाएको रोक तत्काल खुलाउन निर्देशन दिएको हो । हिमालयन बैंक र नेपाल इन्भेष्टमन्ट बैंकको मर्जर भाँडिएसँगै राष्ट्र बैंकले लाभांश वितरण रोक्न निर्देशन दिएको थियो । उक्त निर्देशन विरुद्ध हिमालयन बैंक उच्च अदालत पाटनमा गएको थियो ।
बैंकले गत आर्थिक वर्षको नाफाबाट २१.३८% बोनस सेयर र ४.६२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव साधारण सभाबाट पारित गरेको थियो । यसैबीच राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभागले २०७८ कात्तिक १६ गते लाभांश वितरणमा रोक लगाएको थियो ।
यसको विरुद्ध हिमालयन बैंकले गत २०७८ मंसिर १० गते मुद्दा हालेको थियो । राष्ट्र बैंकको निर्णयविरुद्ध परेको निवेदनमा उच्च अदालतले परमादेश जारी गर्दै राष्ट्र बैंकको निर्णय खारेज गरिदिएको हो ।